सीमा तथा आन्तरिक सुरक्षाका लागि अहोरात्र खटिरहेका छौं : एसएसपी पौडेल

सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) माधवप्रसाद पौडेलले सशस्त्र प्रहरी देशभरको सीमा तथा आन्तरिक सुरक्षाका लागि अहोरात्र खटेर नागरिकलाई सुरक्षा प्रदान गरिरहेको बताएका छन् ।

सरकारले जुन प्रयोजनका लागि एपीएफको स्थापना गरेको छ, त्यसलाई प्रमाणित गर्न आफूहरु सफल भएको समेत एसएसपी पौडेलले बताए ।

सोमबार सशस्त्र प्रहरी बल, नेपाल १२ नम्बर गणको हेडक्वार्टर, कलैया–१६ को उत्तर झिटकैयामा आयोजित वार्षिकोत्सव विशेष कार्यक्रममा पौडेलले एपीएफले शान्ति सुरक्षा प्रदान गर्नुका साथै राजस्व संकलन, चोरी पैठारी नियन्त्रण तथा विपद् व्यवस्थापनमा समेत अहम् भूमिका खेलिरहेको बताए ।

उनले देशको प्रगतिका लागि सशस्त्र प्रहरी कर्मचारी तथा अधिकृतहरुले असल राष्ट्रसेवकको रुपमा काम गरिआएको र अगाडि पनि गरिरहने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्रकुमार साहले सिमानामा सशस्त्र प्रहरीको तैनाथीले नागरिकलाई अमन–चैन प्रदान गरिरहेको बताउँदै घर परिवारबाट टाढा रहेर पनि प्रहरीले देखाउने ऊर्जाको जति प्रशंसा गरे पनि कम हुने बताए ।

१२ नम्बर गणका गणपति (एसपी) सन्तोष बहादुर सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा अमर सहिद प्रहरीका परिवारलाई सम्मानित गरिनुका साथै गणभित्र आयोजित विभिन्न खेल प्रतियोगिताहरुमा विजयी प्रहरी कर्मचारीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर