नेपाल–कतारबीच उच्चस्तरीय भ्रमण र सम्बन्धको यस्तो छ इतिहास

कतारका अमिर (राजा) दुई दिने भ्रमणका लागि आज नेपाल आउँदै छन् ।

कतार तथा खाडी मुलुकबाट नेपालमा यो हालसम्मकै उच्चस्तरीय भ्रमण हो ।
कतार नेपालको प्रमुख श्रम गन्तव्य हो । यद्यपि, यसअगाडि पनि दुई देशबीच विभिन्न तहमा भ्रमण आदानप्रदान भएको छ, जसले दुई देशबीचको राजनीतिक, आर्थिक र जनता–जनताबीचको सम्बन्धलाई बलियो बनाउँदै आएको छ ।

पछिल्लो समय तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले अक्टोबर ३० देखि २ नोभेम्बर २०१८ सम्म कतारको राजकीय भ्रमण गरेकी थिइन् । यस्तै, तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले १०–१३ अक्टोबर २०११ मा पनि कतारको भ्रमण गरेका थिए ।

यस्तै, तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डा. कृष्णकुमार श्रेष्ठले २०२२ मार्च २१–२३ मा, तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले २०–२२ नोभेम्बर २०१९ मा, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले २०१९ अप्रिल ६–१० मा कतारको भ्रमण गरेका थिए ।

यस्तै, तत्कालीन परराष्ट्र मन्त्री रमेशनाथ पाण्डेले सन् २००५ र २००६ मा, पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमल दोस्रो जी–७७ शिखर सम्मेलनमा सहभागी हुन सन् २००५ मा कतार भ्रमणमा गरेका थिए । राजा वीरेन्द्रले पनि सन् १९९९ मा कतारको भ्रमण गरेका थिए ।

यस्तै, कतारको श्रम, प्रशासनिक विकास तथा सामाजिक मामिला मन्त्रालयका उपसचिव मोहम्मद हसन अल ओबैदलीले २०२१ डिसेम्बर २–३ मा, कतारको गृह मन्त्रालयका राहदानी तथा प्रवासी मामिला विभागका महानिर्देशक ब्रिगेडियर जनरल मोहम्मद अहमद अल अतीकले २९ फेब्रुअरीदेखि १ मार्च २०१६ सम्म नेपालको भ्रमण गरेका थिए ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको अहिलेको नेपाल भ्रमणको क्रममा विभिन्न ११ वटा सम्झौता गर्ने तयारी भएको छ । नेपालले अल थानीलाई एक जोडी हात्ती उपहार दिने तयारी छ । नेपालले कतारसँग नयाँ श्रम सम्झौता गर्ने तयारी गरे पनि टुंगो लागिसकेको छैन ।

अमिर अल थानीको यो भ्रमणले नेपाल र कतारबीचको सम्बन्ध अझै सुदृढीकरण हुने अपेक्षा गरिएको छ । नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

नेपाल र कतार तुलनात्मक रुपमा साना देश हुन् । तर कतारले पछिल्लो समय आर्थिक विकासमा ठूलो फड्को मादै विश्वको शक्तिशाली देशको रुपमा स्थापित भएको छ । विश्वका धेरै देशमा कतारले लगानी गर्दै आएको छ ।

नेपालमा पनि जलस्रोत तथा अन्य क्षेत्रमा कतारको लगानी अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर