दाँत सिरिङ–सिरिङ हुन्छ ? यस्ता छन् कारण

हामी सबैलाई थाहा भएकै कुरा हो दाँतको बाहिरी भागलाई इनामेल भनिन्छ । इनामेलभन्दा भित्रको भाग डेन्टिन हो । सबैभन्दा भित्रको भागलाई पल्प भनिन्छ । विभिन्न कारणबस इनामेल खिइँदा डेन्टिन देखिन्छ र सिरिङ–सिरिङ हुन्छ । डेन्टिनमा रहने नशाहरु संवेदनशील हुन्छन् ।

कारण

गलत तरिकाले तथा धेरै बल लगाएर दाँत माझ्नाले इनामेल खिइन पुग्छ र डेन्टिन देखिन्छ । अनि दाँत सिरिङ–सिरिङ हुने समस्या आउँछ ।

एसिड भएको खानेकुराको सेवन, पेटको समस्याले जसले गर्दा अमिलो पानी आउँछ र इनामेल खियाउँछ ।

कसै–कसैको सुत्दाखेरि दाँत किट्ने बानी हुन्छ । यस्तो बानी नियमित गर्नाले इनामेल खिइन्छ ।

मुख सफा नराख्नाले गिजाको रोग जस्तै गिजा तल सर्ने भएर दाँतको जरा देखिन पुग्छ र सिरिङ–सिरिङको समस्या आउँछ ।

यदि नमिलेको दाँत छ भने पनि टोकाइ नमिलेर दाँत खिइन सक्छ

दाँत कीराले खायो भने पनि सिरिङ–सिरिङ गर्ने समस्या आउँछ ।

पहिले भरेको दाँतको सिमेन्ट निस्कियो भने पनि सिरिङ–सिरिङ हुन्छ ।

एकपटक भरेको दाँतमा फेरि कीराले खान सुरु ग¥यो भने पनि यो समस्या आउन सक्छ ।

कहिलेकाहीँ सिमेन्ट भरेपछि, ब्लिचिङ गरेपछि पनि दाँत सिरिङ–सिरिङ हुनसक्छ । तर त्यो केही समयपछि आफैँ सन्चो हुन्छ ।

कहिलेकाहीँ एसिडयुक्त मुख कुल्ला गर्ने औषधिको प्रयोगले पनि दाँत सिरिङ–सिरिङ हुने समस्या आउनसक्छ ।

के गर्ने ?

सही तरिकाले ब्रस गर्नुपर्छ । ब्रस कडा छ भने नरम ब्रसको प्रयोग गर्नुपर्छ ।

एसिड भएको खानेकुरा सकेसम्म नखाने अथवा कम खाने, यदि सेवन गरेमा प्रशस्त मात्रामा पानी पिउने बानी बसाउने ।

ग्यास्ट्रिकसम्बन्धी समस्याको उपचार गराउने ।

सुत्दाखेरि दाँत किट्ने बानी छ भने दन्त चिकित्सकको तुरुन्तै परामर्श लिइहाल्ने र माउथगार्ड लगाउने ।

दिनको दुइपटक फ्लोराइडयुक्त मन्जनले दाँत माझ्ने बानी बसाउने, फ्लोराइड भएको माउथवास, फ्लस प्रयोग गर्ने र दाँत, गिजा स्वस्थ राख्ने ।

यदि खैनी, चुरोट सेवन गर्ने बानी छ भने तुरुन्तै त्याग्ने ।

यस्तो छ उपचार विधि

यदि दाँत सिरिङ–सिरिङ हुने समस्या छ भने तुरुन्तै दन्त चिकित्सककहाँ गएर कारण पत्ता लगाउनुपर्छ । कारणअनुसार उपचार फरक पर्छ ।

संवेदनशीलतामा प्रयोग गर्ने मन्जनहरु थुप्रै नाममा बजारमा उपलब्ध छन् जुन दुई हप्ता जति प्रयोग गरे सिरिङ–सिरिङको समस्या बिस्तारै कम भएर जान्छ ।

यदि गिजा धेरै तल सरेर दाँतको जरा देखिएर यस्तो समस्या आएको हो भने सर्जरी पनि गर्नुपर्ने हुन सक्छ । यसो गर्दा देखिएको दाँतको जरा छोपिन्छ र समस्या कम भएर जान्छ ।

दाँत किट्ने बानीले यो समस्या आएको हो भने माउथगार्ड लगाउनु पर्छ ।

दाँत किराले खाएर यो समस्या आएको हो भने तुरुन्त दन्त चिकित्सककहाँ गएर दाँत भरिहाल्नुपर्छ । यदि पहिले भरेको दाँतको सिमेन्ट निस्किएको छ भने फेरि भर्नुपर्छ ।

सकेसम्म पेटको समस्याको उपचार छिटो गराइहाल्नुपर्छ ।

नमिलेको दाँतको अर्थोडोन्टिक उपचार गराउनुपर्छ, जसमा तारको सहायताले नमिलेको दाँत मिलाइन्छ र दाँत अझै खिइनबाट बचाउन सकिन्छ ।

यदि माथि उल्लेखित उपचार गर्दा पनि निको नभएमा रुट क्यानल उपचार गराउनु पर्ने हुन सक्छ ।

प्रतिक्रिया

One thought on “दाँत सिरिङ–सिरिङ हुन्छ ? यस्ता छन् कारण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर