इलाम र बझाङ उपनिर्वाचनः प्रारम्भिक मतगणनामा को अघि ?

इलाम र बझाङमा मतगणना जारी छ । इलाम–२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिका–१ को मतगणना सकिएको छ । सो वडाका तीन वटा मतदान केन्द्रका एक हजार पाँच सय ३८ मतगणना सकिएको हो ।

मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले छ सय ५७ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले पाँच सय ३४ प्राप्त गरेका छन् ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले एक सय ८७ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले एक सय १५ मत प्राप्त गरेका छन् ।

शनिबार भएको उपनिर्वाचनमा ६९ हजार दुई सय ८७ अर्थात् ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो । सो क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता थिए ।

यो उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा छन् ।

बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणना सुरु भएको छ ।

छविसपाथिभेरा गाउँपालिका–२ सरस्वती मावि मतदान केन्द्रको चार सय मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का दमनबहादुर भण्डारीले एक सय ५७ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले एक सय ३२ मत प्राप्त गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले ५१ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जनकबहादुर बुढाले ४७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोर खड्काले एक मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर