सहकारी ठगी प्रकरण : छानबिन समिति बनाउने प्रधानमन्त्री प्रचण्डको संकेत

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीमा भएको अनियमिताबारे छानबिन गर्न संसदीय समिति बनाउन  सकिने बताएका छन् । यसका लागि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने समेत तयार भएको उनले बताए ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी अनियमिततामा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति बनाउन माग गर्दै आएको छ । समिति गठन गर्न सरकार तयार नभएको भन्दै कांग्रेसले अघिल्लो अधिवेशनको पछिल्ला दुई वटा बैठक अवरुद्ध गरेको थियो ।

प्रतिनिधिसभाको बजेट अधिवेशन २८ वैशाखमा बोलाइएको छ । तर कांग्रेसले बैठक चल्न दिने वा नदिने प्रष्ट नभएको प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।

शनिबार माओवादी संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले एउटा व्यक्ति तोकेर नभई समग्र समस्या समाधान गर्ने गरी संसदीय समिति बनाउने सकिने बताएका हुन् ।

पछिल्लो बैठकमा कांग्रेस नेताहरुले पनि गृहमन्त्री रवि लामिछानेको संलग्नता भनेर व्यक्ति नतोकी समग्र विषयमा छानबिन गर्न समिति बनाउन सकिने बताएका थिए । यसमा प्रधानमन्त्री प्रचण्ड पनि तयार थिए ।तर सत्ता गठबन्धनको प्रमुख घटक एमालेका अध्यक्ष केपी शर्मा ओली तयार नभएपछि संसदको अघिल्लो अधिवेशनमा समिति बन्न सकेन ।

अहिले गृहमन्त्री लामिछाने नै तयार भएकाले सत्ता गठबन्धनमा सहमति जुट्ने सम्भावना रहेको माओवादीका एक सांसदले बताए । उनले भने, ‘प्रधानमन्त्रीले गठबन्धनमा सहमति गरेर छिट्टै सर्वदलीय बैठक राख्छु भन्नुभएको छ ।’

संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको असन्तुष्टितर्फ संकेत गर्दै गठबन्धन तलमाथि नहुने बताए । हरेक दलले प्रतिपक्षमा पुग्नासाथ गठबन्धन भत्काउन प्रयास गर्ने र अहिले पनि त्यही भइरहेको भन्दै उनले भने, ‘तर अहिले तलमाथि हुने सम्भावना छैन ।’

प्रधानमन्त्री प्रचण्डले सांसदहरुलाई संसद र संसदीय समितिको बैठकमा सक्रियतापूर्वक सहभागी हुन र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सुझाव दिन निर्देशन दिएको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया

One thought on “सहकारी ठगी प्रकरण : छानबिन समिति बनाउने प्रधानमन्त्री प्रचण्डको संकेत

  1. देशको बिकास सुशाशन तथा सुरक्षामा असर पर्ने कुनैपनी बिसय सम्बन्धित कुराहरु सबैले सधैनै सहमतिमै टुङ्ग्याउने प्रथा सुरु गरौ!
    सधै परिस्थिति अनियंत्रित हुन जाने अबस्थामा मात्र नेताहरुमा चेत आउने नत्र उहीँ पुरानै हठ र ढर्‍रा देखिने कार्यले आज देश र जनताहरुलाई के कति नकारात्मक असर परिरहेको छ भन्ने नेता हरुले जति चाडो बुझेर कार्य गर्छन त्यो तरिका ले सबैलाई राम्रो हुने देखिन्छ। जय मात्रीभुमी!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर