टि–२० विश्वकप : यस्तो छ नेपाली टोलीको सबल र दुर्बल पक्ष

नेपाली पुरुष क्रिकेट टोली आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने टि–२० विश्वकपमा सहभागी हुँदै छ ।यसको तयारीका लागि शनिबार राति र आज आइतबार गरी दुई चरणमा टोली सदस्य अमेरिका प्रस्थान गर्दै छन् ।

अमेरिकाको मियामीमा केही दिन अभ्यास गर्ने नेपाली टोली त्यहाँबाट वेस्ट इन्डिजमा तयारीका लागि आउने छ । त्यहाँ नेपालले विश्वकपका टोलीसँग खेल्ने मैदानमा नै तयारी गर्ने तय भएको छ । त्यसपछि विश्वकपका खेल खेल्न नेपाल पुनः अमेरिका प्रस्थान गर्नेछ ।

अमेरिकाको डालासमा जुन ४ पहिलो खेल खेलेर नेपालले विश्वकपको सुरुवात गर्नेछ । यस्तै, जुन ११ मा फ्लोरिडामा श्रीलंकाविरुद्ध खेलेपछि नेपाल जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशविरुद्ध खेल्न वेस्ट इन्डिजको सेन्ट भिसेन्ट जानेछ ।

नेपाल १० वर्षपछि फेरि विश्वकपमा सहभागिता जनाउन थालेको हो । सन् २०१४ मा पहिलो पटक टि–२० विश्वकपमा सहभागी भएको नेपालको त्यस बेलाको टोलीका सोमपाल कामी मात्र यस पटकको टोलीमा छन् ।

विश्वकपका लागि घोषणा गरिएको १५ सदस्यीय नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अभिनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी छन् ।

सबल पक्ष

क्रिकेट विश्लेषकहरुका अनुसार हालको नेपाली टोली ऐतिहासिक रुपमा नै बलियो मानिन्छ । अनुभवी र युवा खेलाडीको सम्मीश्रण रहेको यो टोलीले डेढ वर्षयता ठूल्ठूला सफलता पनि हासिल गरेको छ ।

विश्व क्रिकेट लिगको क्रममा एकदिवसीय मान्यता गुमाउने अवस्थामा पुगेको नेपालको यही टोलीले उक्त मान्यता जोगाएन मात्र, विश्वकपका लागि विश्वस्तरीय प्रतियोगितामा पनि सहभागिता जनाएको थियो । त्यस क्रममा नेपालले लगातार एक दर्जन एकदिवसीय खेल जितेर कीर्तिमान नै कायम गरेको थियो ।

अहिलेकै टोलीले एसिया प्रिमियर कप जितेर एसिया कपमा सहभागिता जनाएको थियो । जहाँ भारत, पाकिस्तान जस्ता टोलीसँग निडर र तारिफयोग्य खेल प्रदर्शन गरेको थियो । यही टोलीले ने घरेलु मैदानमा भएको प्रतिस्पर्धाबाट टि–२० विश्वकपमा स्थान सुरक्षित गरेको थियो ।

डेढ–दुई वर्षयता नेपालको यही टोलीले नै लगातार रुपमा खेलिरहेकाले टिममा खेलाडीबीच आपसी समझदारी रहनुु नेपालका लागि सबल पक्ष हो । यही कारण नेपाल अहिले एसोसिएट क्रिकेटमा बलियो टोली मानिएको छ ।

नेपालको टोलीमा अहिले प्रशस्त अलराउन्डर छन् । विकेटकिपर आसिफ शेख, अनिलकुमार साह, ललित राजवंशी, सन्दीप जोरा बाहेक हरेक खेलाडी ब्याटिङ, बलिङ दुवैका लागि सक्षम देखिन्छन् । नेपालको टोलीमा अहिले ब्याट्म्यानको रुपमा रहेका कुशल भुर्तेल, रोहित, दीपेन्द्र, कुशल मल्ल स्पिन बलिङ गर्न सक्छन् । यस्तै, बलरहरु गुल्सन, सोमपाल, करण, प्रतीश, कमलसिंह, सागर ब्याटिङमा पनि सक्षम छन् ।

दुर्बल पक्ष

नेपाली टोलीको पछिल्ला प्रदर्शन भने उतारचढावपूर्ण छन् । नेपालमा विश्व क्रिकेट लिग टुमा खराब प्रदर्शन गरेको नेपालले नेदरल्यान्ड्स र नामिबियाविरुद्ध पनि मध्यम प्रदर्शन गरेको थियो । आयरल्यान्ड एविरुद्धको दुवै टि–२० जितेको नेपालले भारत भ्रमणमा भने बरोडा र गुजरातविरुद्ध सिरिज जितेको थियो । तर, हङकङ र पीएनजी सिरिजमा भने नेपाल फाइनलमा पराजित भएको थियो ।

एसिसी प्रिमियर कपमा पनि लिगका चार खेल जितेको नेपाल युएई र तेस्रो स्थानका लागि हङकङसँग भएको खेलमा पराजित भएको थियो । जसका कारण एसिसी कप र एसिसी इमर्जिङ कपमा छनोट हुन नेपाल असफल भएको छ । हालै वेस्ट इन्डिज एविरुद्ध घरेलु मैदानमा भएको खेलमा नेपालले २ मा जित र ३ खेलमा हार व्यहोरेको छ ।

नेपालको अहिले ओपनिङ जोडीले ठोस सुरुवात गर्न सकेको छैन । कुशल भुर्तेलले बलिङमा योगदान दिइरहँदा ब्याटिङमा भने आफ्नो लय कायम राख्न सकेका छैनन् । यस्तै, मध्यक्रमका ब्याट्सम्यान सन्दीप जोरा र गुल्सन झाले ठीकठाक प्रदर्शन गर्दा रोहित पौडेलले पनि ठूला खेलमा प्रदर्शन गर्नुपर्ने देखिन्छ ।

खेलको अन्त्यतिर आएर विस्फोटक ब्याटिङ गर्नुपर्ने कुशल मल्लको फर्म पनि चिन्ताको विषय छ भने दीपेन्द्रले पनि आफ्नो लय कायम राख्नुपर्ने जिम्मेवारी छ ।

यस्तै, बलिङको ओपनिङमा सोमपाल कामीले विकेट लिन नसक्दा अन्य टिमले पावर प्लेमा राम्रो गरेको देखिन्छ । नेपालको मुख्य समस्या भनेको डेथ ओभरको बलिङ हो । डेथ ओभर स्पेसलिस्ट भनिएका बलर अभिनाश बोहरा नै महँगो साबित हुँदै आएकाले यो समस्या नेपालले समाधान गर्नुपर्ने देखिन्छ ।

नेपालले विश्वकपमा टेस्ट देशहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले जितका लागि अहिलेको भन्दा पनि उच्च र संगठित प्रदर्शन गर्नुपर्नेछ ।

विश्वकपमा नेपालका खेल

नेदरल्यान्डसविरूद्ध – जुन ४– अमेरिका, डालास

श्रीलंकाविरूद्ध – जुन ११ – अमेरिका, फ्लोरिडा

दक्षिण अफ्रिकाविरूद्ध – जुन १४ – सेन्ट भिसेन्ट

बंगलादेशविरूद्ध – जुन १६– सेन्ट भिसेन्ट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर