किन रोकियो एआईजी बढुवा ?

नेपाल प्रहरीको रिक्त दुई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी) को नाम सिफारिस भएको लामो समय बित्दा पनि बढुवा हुन सकेको छैन ।

गत वैशाख ३ मा बढुवा समिति सचिवालयले उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको थियो । गृह सचिव एकनारायण अर्यालको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव र प्रहरी महानिरीक्षक (आईजीपी) सदस्य सचिव रहेको समितिले उमेशराज जोशी र भीमप्रसाद ढकाललाई बढुवा गर्न सिफारिस गरेको थियो ।

तर मन्त्रिपरिषद् बैठकले हालसम्म उनीहरुको बढुवा नगरेको हो । जोशी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज र प्रवक्तासमेत रहेका ढकाल नेपाल प्रहरी प्रधान कार्यालयको आईजीपी सचिवालयमा कार्यरत छन् ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उनीहरुको पदस्थापनको विषयमा निर्णय हुन नसक्दा बढुवा प्रक्रिया रोकिएको हो । यसबीचमा पटकपटक मन्त्रिपरिषद् बैठक बसे पनि बढुवाको निर्णय हुन नसकेको हो । एआईजी बढुवा रोकिँदा डीआईजी बढुवा पनि प्रभावित भएको छ ।

प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) द्वय सन्दीप भण्डारी र मीरा चौधरी उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि उनीहरुको स्थानमा बढुवा सिफारिस गरिएको थियो । भण्डारी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत थिए भने चौधरी प्रशासन विभागमा कार्यरत थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर