दलहरुले शैक्षिक क्षेत्रमा भ्रातृ संगठनको परिचालन रोक्नुपर्छ : उपकुलपति बराल

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजंग बरालले राजनीतिक दलहरुले शैक्षिक क्षेत्रमा भ्रातृ संगठनलाई परिचालन गर्न रोक्नुपर्ने बताएका छन्।

बिहीबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उपकुलपति बरालले शैक्षिक क्षेत्रमा राजनीतिक दलका भ्रातृ संगठनहरुलाई परिचालन गर्न रोक्नुपर्ने बताएका हुन्।

हरेक दलको विद्यार्थी, कर्मचारी र प्राध्यापक संगठन रहेका भन्दै उनले हरेक दिन उनीहरुसँग नै अल्झिरहनु परेको बताए। उनले विगतमा भ्रातृ संगठनहरु आवश्यक भए पनि अबका दिनमा शैक्षिक संस्थामा भातृ संगठनहरुको उपयोगिताको सम्बन्धमा दलहरुले सोच्नुपर्ने बेला आएको बताए।

उनले आफूहरुले पनि विश्वविद्यालयलाई कसैमाथि आग्रह, पूर्वाग्रह नराखि शुद्ध किसिमले चलाउने बताए। उनले विश्वविद्यालयलाई राजनीतिबाट मुक्त नगराउँदासम्म क्यालेण्डर प्रणाली लागू गर्न गाह्रो हुने बताए।

उपकुलपति बरालले विदेशी विश्वविद्यालयसँग सम्बन्धनप्राप्त कलेजहरुलाई अनुगमन गरी निश्चित संयन्त्र बनाइ नियन्त्रण गर्नुपर्ने बताए।

उनले त्रिभुवन विश्वविद्यालयले मात्रै क्यालेण्डर प्रणाली लागू गर्छु भनेर नहुने भन्दै एसईई परीक्षालगायतका परीक्षाहरु र अन्य विश्वविद्यालयको क्यालेन्डरसँग पनि सम्बन्धित हुने बताए।

विश्वविद्यालयले बजारको मागअनुरुपको नयाँ पाठ्यक्रम दिन नसकेको स्वीकार गर्दै उनले आगामी दिनमा नयाँ पाठ्यक्रमको बारेमा पनि सोचिने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर