प्रधानमन्त्री र देउवाबीच वान टु वान वार्ता : संसदको गतिरोध अन्त्य गर्नेबारे छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको छ ।

सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा आईतवार बिहान भेट भएको हो । सभापति देउवाको आग्रहमा प्रधानमन्त्री दाहाल बुढानीलकण्ठ पुगेकाे काँग्रेस सांसद जीवन परियारले बताए ।

बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि बोलाइएको भएपनि प्रधानमन्त्री मात्रै बैठकमा सहभागी भएकाे उनले बताए । भेटमा दाहाल र देउवाबीच वान टु वान वार्ता समेत भएको छ ।

वार्ताबारे काँग्रेस सभापति देउवाले दलका नेताहरुलाई नबताएको र अहिलेको गतिरोध अन्त्य गर्ने बारेमा नै छलफल भएको हुनुपर्ने सांसद परियारले बताए । उनले भेटमा सहकारीको रकम अपचलनसम्बन्धी उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम नै किटान गरेर जानुपर्ने अडान काँग्रेसले राखेको पनि बताए ।

उनले प्रधानमन्त्री सहकारी प्रकरणबारे छानबिन समिति गठन गर्न र अहिलेको गतिरोध हटाउन सकारात्मक देखिएको बताए । शीर्ष दलका नेताहरुको बैठक आईतवार साँझ वा सोमवार बिहान पुनः बसेर निस्कर्षमा पुग्ने नेता परियारले बताए ।

उनले भने, ‘आज बिहान प्रधानमन्त्रीको निवासमा शीर्ष नेताहरुको बैठक गर्ने तय भएको थियो । आज ९ बजे बालुवाटारमा विपक्षी दलका नेता शेरबहादुर देउवा, सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल बसेर अहिलेको गतिरोधलाई अन्त्य गर्न छलफल गर्ने तय भएको थियो । पार्टी सभापतिको स्वास्थ्य अवस्थाका कारण यहाँ नै बस्न आग्रह गर्नुभएको थियो । बैठकमा प्रधानमन्त्री मात्रै आउनुभयो । उहाँहरुको छुट्टै बैठक भयो, जसमा हामी थिएनौँ । अहिलेको कार्यदलले निस्कर्षमा पु¥याउन नसकेको विषय विगत लामो समयदेखि हामीले संसदमा उठाइरहेको विषय उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संलग्न रहेको गोरखा मिडिया नेटवर्कको प्रवन्ध निर्देशक हुँदा विभिन्न सहकारीबाट रकमहरु गोरखा मिडिया नेटवर्कमा प्राप्त भएको र उक्त रकम अपचलन भएको भन्नेबारेमा नेपाली काँग्रेसले उठाइरहेको विषय हो संसदमा । यो विषयमा छानबिन समिति बनाउने कुरा र कार्यदलमा सहमति जुट्न नसकेको अवस्थामा यसलाई कसरी टुंग्याउन सकिन्छ भन्नेबारेमा प्रधानमन्त्रीजी गम्भीर रहेको हामीले पाएका छौँ । प्रधानमन्त्रीज्युले सम्भव भएसम्म यसलाई अझै छलफल गरेर आज बेलुका वा भोलि बिहानसम्म बसेर टुंग्याउनेमा सरकारको भनाइ छ ।’

उनले सत्ता पक्ष छानबिन गर्ने गरी सही रुपमा अझै प्रस्तुत नभएको आरोप समेत लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *