नसा तथा मनोरोग विशेषज्ञ डा. प्रदीप पाण्डेसँग अन्तर्वार्ता

‘मानसिक रोग पागलपन होइन’

पछिल्लो समय नेपालमा पनि मानसिक समस्या बढ्दै गएको अध्ययनले देखाएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार स्वास्थ्य भनेको कुनै रोग वा दुर्बलता उपस्थित नहुनु मात्र होइन, बरु शारीरिक, मानसिक तथा सामाजिक समग्रमा स्वस्थ हुने अवस्था हो। हामी शारीरिक रूपमा समस्या सानो भए पनि तत्काल अस्पताल लाग्छौं। तर मानसिक तथा सामाजिक रूपमा जति अस्वस्थ भए पनि त्यसको बेवास्ता गर्छौं। शरीर स्वस्थ रहनका लागि मन स्वस्थ हुनु अपरिहार्य छ, मानसिक स्वास्थ्यबिना स्वास्थ्यको परिकल्पना नै अधुरो र अपुरो हुने गर्छ।

मानसिक रूपमा स्वस्थ व्यक्तिहरूले आफ्नो क्षमताको सही पहिचान गरी जीवनका विभिन्न परिस्थिति सामना गर्दै उत्पादनशील जीवनयापन गर्न सक्षम हुन्छन्। मानसिक रूपमा अस्वस्थ हुनु भन्नाले मगज बिग्रिनु वा पागल हुनु होइन, बरु मनमा अन्तरद्वन्द्व, अनावश्यक डर, त्रास, उदासीपन, खुशीको अनुभूति नहुनुका साथै तनाव सहन सक्ने क्षमता कम हुनु, व्यक्तिगत तथा सामाजिक जीवनबीच सन्तुलन कायम राख्न सक्षम नहुनु, उत्पादनशीलता एवं बौद्धिक क्षमतामा ह्रास आउनु तथा मानसिकतामा असामान्य परिवर्तन हुनु हो। तर, नेपाली समाजमा भने मानसिक समस्यालाई पागलपन मानेर त्यसको उपचार गर्नै नजाने र आफैंले समस्या समाधान गर्न लाग्ने तथा अन्य नजिकका मानिसहरूले थाहा नपाऊन् भन्ने हिसाबले लुकाउने गरेको पाइन्छ।

मानसिक व्यथाको प्रवृति शारीरिक पीडाभन्दा विल्कुलै फरक हुन्छ। यही असहनीय पीडाकै कारण बिरामीहरू आफू मर्न वा अरूलाई मार्नसमेत पछि पर्दैनन्। विश्वमा हुने आत्महत्याहरूको प्रमुख कारण मानसिक अस्वस्थता नै रहेको अध्ययनले देखाउँछ। प्रायः हत्याकाण्डहरू पनि मानसिक वा सामाजिक विकृतिकै कारण हुने गरेको विज्ञहरूले बताउँदै आएका छन्। त्यसैले पनि हामीले मानसिक रूपमा अस्वस्थ व्यक्तिहरूको समयमै उपचार गरायौं भने बिरामीहरूलाई एउटा नयाँ जीवन प्रदान गर्न सक्दछौं। यसै सन्दर्भमा केन्द्रित रहेर न्यूज एजेन्सी नेपालले नसा तथा मनोरोग विशेषज्ञ डा. प्रदीप पाण्डेसँग कुराकानी गरेको छ। डा.पाण्डे अल्का अस्पतालमा नसा तथा मनोरोग विशेषज्ञको रूपमा कार्यरत छन्।

विशेषज्ञहरू नसा र मनोरोग एकै ठाउँमा जोडेर हेर्ने गर्छन्, तर नसाको समस्या अर्कै हो, मनोरोगको समस्या अर्कै हो भन्ने आम बुझाइ छ। खासमा यो कस्तो खालको समस्या हो र कस्तो कस्तो किसिमको लक्षण अथवा समस्या देखिँदा मेडिकल टर्ममा यो समस्या भएको बुझिन्छ?
न्युरो साइक्याट्रिक भनेर भन्छौं हामी। यसमा खास किन न्युरो साइक्याट्रिक अथवा साइक्याट्रिकमा चाहिँ नसा कसरी जोडियो भन्ने कुरा आउँछ। न्युरो साइक्याट्रिक भनेकै मनसम्बन्धीको विषय हो। मन भनेपछि हामी मुटुलाई हेर्छौं। खास मन भनेको चाहिँ वी आर टकिङ अबाउट द माइन्ड एण्ड ब्रेन। हामी माइण्ड र ब्रेनको बारेमा कुरा गर्छौं। ब्रेन जोडिनेबित्तिकै ब्रेनसँग हजारौं न्युरोन्सहरू जोडिन्छ। त्यहीँबाट मन, विचार उत्पादन भइरहेको छ। त्यही भएर हामीले न्युरो साइक्याट्रिक भनेका हौं। यो नसासँग जोडिएकै विषयवस्तु हो। अब यसका के कस्ता लक्षणहरू हुन्छन् भन्दा यसको सयौं रोगहरू छन्। यसमा खासगरी हुने लक्षणहरू भनेका निद्रा नलाग्ने, टाउको दुख्ने, डर लाग्ने, ढुकढुक हुने, आत्तिने, मर्छु जस्तो लाग्ने, शंका लाग्ने, अरू कसैले मलाई बिर्गान लागे, मार्न लागे, मेरोबारेमा कुरा गरिरहेको छ कि भनेर शंका, उपशंकाहरू हुने, मन निराश हुने, दिक्क लाग्ने, कुरा खेल्ने, नरमाइलो लाग्ने, आत्महत्याको विचार आउने, चुरोट, रक्सी, खैनी, गाँजा, ट्याब्लेट, इन्जेक्सनहरूको सेवन गर्ने, हातखुट्टा झमझम गर्‍याे, पोल्यो, ज्यान दुख्यो भन्ने, त्यस्तै बेहोसीको समस्या, सास फेर्न गाह्रो हुने, सेक्सुअल प्रोब्लम, डिजायरहरू कम हुने। यसमा धेरै खालका समस्याहरू हुन्छन्।

सामान्य समस्या तपाईंलाई अचम्म लाग्ला पेटसम्बन्धी समस्या पनि मनको कारणले गर्दा हुन सक्छ। ग्यास टाइटिक (ग्याष्ट्रिक) को औषधी खाँदाखाँदा सन्चो नभएपछि आजकाल पेटकै डाक्टरहरूले पनि हामीकहाँ पठाउनुहुन्छ। ग्यास टाइटिक सन्चो भएन, उल्टी भयो, साइकोजेनिक बोमेटिङ भन्छौं हामी। मनको कारणले गर्दा डाइरिया हुने, मुटु ढुकढुक हुने, छाती दुख्ने, मन भारी हुने मान्छे गंगालाल गएर देखाउनुहुन्छ, केही पनि छैन भनेर भन्दिनुहुन् । लास्टमा फेरि उहाँहरू हामी भएको ठाउँमा आउनुहुन्छ मुटुको समस्या लिएर। हेर्दाखेरि मुटुको लक्षणजस्तो देखिन्छ तर रियालिटीमा मनको समस्या। सबै ब्रेनले गरिरहेको छ। कोही हात चलेन भन्दै आउनुहुन्छ, औँलाहरू लाटो भयो, हातखुट्टा दुख्यो, झमझम भयो भन्दै आउनुहुन्छ। कोही बेहोसीमा परेर आउनुहुन्छ, कोही टाउको दुखेर उल्टी भएर आउनुहुन्छ। विभिन्न लक्षणहरू नसा र मनसँग जोडिएर आएको हुन्छ।

कुन स्टेजमा तपाईकहाँ बिरामी आइपुग्छन्?
सामान्यतया मानसिक रोग भन्नेबित्तिकै नेपाली जनमानसले आज पनि म पागलको डाक्टरकोमा गएँ कि, बौलाहाको डाक्टरकहाँ गएँ कि भन्ने डरको कारणले गर्दाखेरि समस्या हुँदाहुँदै पनि उसले आत्महत्याको प्रयास गरिसकेपछि वा कुलतमा पनि एकदमै इन्जेक्सन हानेर खुट्टा काट्नुपर्ने अवस्था भइसकेपछि मात्रै घरका मान्छेहरूलाई रियलाइज हुने वा कुनै घटना भइसकेपछि चाहे आफैँलाई असर परिसकेपछि अथवा अरू कसैलाई असर पारिसकेपछिको परिस्थिति रहोस्, त्यस्तो खालको परिस्थितिपछि मात्रै घरपरिवारका मान्छेहरू आउने गर्नुहुन्छ। सामान्यतया हाम्रो समाजले के भन्छ भने आफैं बलियो भएर बसे भइहाल्यो नि किन कुरा खेलाउने? त्यहाँ मानसिकको डाक्टरकोमा गयो भने बौलाहाको औषधी दिन्छ। दिमागले काम गर्दैन। त्यहाँ जानु हुँदैन। मलाई पनि डिप्रेसन भएको थियो, आफैं बलियो भएँ। किन कुरा खेलाइरहने, राम्रो राम्रो सोच्यो भने त सन्चो भइहाल्छ नि भनेर परिवारका मान्छेसँग सहयोग माग्दा उसलाई त्यहाँबाट पन्छाइदिने। त्यो आफैं बलियो हुने भनेको के हो त्यो कसैलाई पनि थाहा छैन। त्यो खालको कारणले गर्दाखेरि परिवारबाट पनि साथ नपाउने, समाजबाट पनि त्यो चिजको साथ नपाउने, आत्महत्याजस्ता समस्या आउने गर्छन्। हरेक दिनजसो म अस्पतालमा दुई/तीनवटा आत्महत्याको प्रयास गरेर आउने बिरामीहरू हेर्छु। म एउटा डाक्टरले दिनमा दुई,/तीन जना हेर्छु भन्दा महिनामा ६०/७० जना बिरामी त म एक्लै हेर्छु। भनेपछि यस्तो कतिवटा अस्पताल होलान्? भनेपछि यो कुन फेजमा रहला?

कोभिडपछि, भूकम्पपछि मानसिक समस्या एकदमै विकराल रूपमा छ। बेरोजगारी, आर्थिक समस्या आदिलाई कसरी व्यवस्थापन गर्न सक्छ त? यी सबै समस्याहरूलाई मान्छेले जब व्यवस्थापन गर्न सक्दैन, त्यसपछि उसलाई इमोसनमा, फिलिङ्समा, थर्ट प्रोसेसमा, बिहेभियरमा समस्या आउँछ। उसको विचार फरक बनिदिन्छ। सोचहरू फरक बनिदिन्छ। अनुहारको एक्सप्रेसनहरू फरक बनिदिन्छ। हाउभाउहरू फरक भइदिन्छ। रिसाउने भइदिन्छ। चिटचिटापन भइदिन्छ। अहिले त नयाँ समस्या के देखिएको छ भने सात वर्षदेखिको बच्चाहरू साइकोलोजिकल प्रोब्लमहरू लिएर आइराख्नुभएको छ। सात, आठ वर्षका बच्चाहरू मोबाइल चलाउने, मोबाइल पाएन भने टाउको फुटाएर आउने, पब्जी खेल्न पाएन भने झगडा गर्ने। स्कुल नजाने, कति बच्चाहरू चौबिस घण्टा हिन्दी सिनेमाहरू हेर्दाहेर्दा नेपाली र अंग्रेजी भाषा नै बिर्सिएर पागलजस्तो भएर आइदिने। यस्ता यावत चिजहरू ११, १२ वर्षका बच्चाहरूले आत्महत्या गरेका, निद्रा नपरेका, टाउको दुख्यो भन्दै आउने एकदमै लार्ज स्केलमा। हामीले डिस्कस गर्नुपर्ने तर डिस्कस नगरिएको विषयवस्तुमा यो पर्छ। र, हामीले डिस्कस गरे पनि, नगरे पनि यो समस्याले हामीलाई छोड्दैन ।

तपाईंले बालबालिकाको कुरा गर्नुभयो, कुनै डेटा छ यति प्रतिशत बालबालिकाहरू प्रभावित भइराखेका छन् अथवा बढ्दै गइरहेको छ भन्ने?
नेशनल सर्भे त हामीसँग छैन। तर, मेरो अनुभव मैले दश वर्ष पहिला अभ्यास सुरु गर्दाखेरि मैले सायद एउटा पनि पेसेन्ट हेर्दिन थिएँ भने अहिले उस्तै पर्‍याे भने ६ वर्षदेखि १४/१५ वर्षका ३/४ जना पेसेन्ट मैले दैनिक हेर्नु परिराखेको छ। यस्तो हरेक ठाउँमा हरेक स्थानमा भइराखेको होला। यही लेभलमा बढिराखेको होला यो समस्या। बच्चाहरू हावा चले पनि डराउने, एक्लै बस्न नसक्ने, समाजमा गएर कुरा गर्न नसक्ने, समाजबाट एक्लिँदैछौं भन्ने सोच्ने, बच्चाले बोल्न नपाउँदा आवाज नै नफुटेको, ढिलो बोल्ने, नयाँ मान्छेहरूसँग गफ गर्न नसक्ने बच्चाहरूका यी समस्या एकदमै धेरै छन्।

उपचारपछि बिरामीमा आएको परिवर्तन कस्तो छ? के पाउनुभएको छ?
त्यो एकदमै राम्रो छ। मोर द्यान ९५ पर्सेन्ट पेसेन्ट्स बिकम नर्मल। सर्टेन पेसेन्टमा हामीले त्यसमा औषधी पनि बन्द गरिदिन्छौं। बिरामीलाई के लाग्छ भने, समाजलाई के लाग्छ भने मानसिक रोग भनेको पागलपन हो। मानसिक रोग हेर्ने डाक्टर पनि पागल हुन्छ। रोग पनि पागलपनको रोग हो। त्यो कारणले गर्दाखेरि हामी सकेसम्म पागलपनको डाक्टरकहाँ जाने होइन। आफैं कोसिस गर्नुपर्छ। योगा गरेर, ध्यान गरेर, मनमा कुरा नखेलाएर, सकारात्मक सोच्यो भने आफैं सन्चो हुन्छ भनेर हामी आफ्नै समस्यालाई लम्ब्याउँदै जान्छौं र एकैचोटि सुसाइड गरेर आईसीयूमा आइपुग्ने अवस्था हुन्छ। यो खालको परिस्थितिमा बिरामीहरू बसिराख्नुभएको छ। यही परिस्थितिमा हाम्रा छोराछोरीलाई, हाम्रा दाजुभाइलाई, हाम्रो समाजलाई कहिलेसम्म यो समस्याबाट ग्रसित गराइराख्ने? अथवा यसको बारेमा कसले बोल्ने त?

विगत एक वर्षको समयको विश्लेषण गर्दा कस्तो खालको समस्याको प्रकृति लिएर आउने र उमेर समूह पनि कस्तो खालका बढेका छन्?
अहिले सबभन्दा कमन देखिएको एन्जाइटी। डर, ढुकढुक हुने, आत्तिने, सास फेर्न गाह्रो हुने, अर्को अनिद्रा, युवा पुस्तामा चाहिँ अनिद्राको समस्या। मोबाइल, टेक्नोलोजी, सोसल मिडियाको प्रयोगको कारणले गर्दा अधिक मान्छेहरू यसको शिकार भइराखेका छन्। सामाजिक सञ्जालमा सकारात्मक र नकारात्मक कुरा पनि आउँछन्। तर, त्यसको सेलेक्सन कसरी गर्ने? फिल्टर कसरी गर्ने? नकारात्मक सोच र नकारात्मक जानकारीहरूको प्रभाव हाम्रो मनमा कसरी परिरहेको छ? आफैंले रोग पत्ता लगाएर आफैंले उपचार गर्न खोज्ने प्रवृत्तिको कारणले गर्दा मानिसहरूमा यावत समस्याहरू देखिएको छ। मिडियाको प्रयोगले गर्दा मान्छे १/२ बजे सुत्ने। मोबाइल चलाउने, टिकटक चलाउने, पब्जीलगायतका गेम खेल्ने यसरी मानिसहरू अल्मलिइरहनुभएको छ त्यसो हुँदा युवा पुस्ताको ब्रेन, क्रियभिटी सबै घट्दै गइरहेको छ।

मानिसहरूलाई तपाईंको सुझाव के छ, केके भयो भने नडराइकन न्युरो साइक्याट्रिककोमा आउनुस् भन्नुहुन्छ?
नसा तथा मानसिक रोग भनेको कुनै ठूलो समस्या होइन। एकदमै सामान्य समस्या हो। ग्यास टाइटिक (ग्याष्ट्रिक) को समस्यामा औषधी खाएर सन्चो भएको जस्तै मनको पनि समस्या भयो भने औषधी खाएर सन्चो हुन्छ। यसका सयौं प्रकृतिका रोग छन्। एउटै मात्र प्रकृतिको रोग छैन। जानेबित्तिकै डाक्टरले दिमागले काम नगर्ने औषधी दिन्छ भनेर कल्पना गर्नुपर्दैन। हामी सामान्य गफ गरेर, काउन्सिलिङ गरेर पठाउन सक्छौं। कति पटक हामी साइकोथेरापी सेसनहरू प्लान गर्न सक्छौं। त्यति धेरै डराउनुपर्ने आवश्यकता छैन। औषधी खाइहाल्दा पनि डाक्टरलाई सोध्दा हुन्छ कति समयसम्म खानुपर्छ औषधी भनेर। डाक्टरले प्रस्ट रूपमा भन्न सक्छ, १ वर्षजति खायो भने मज्जाले पुग्छ सामान्य रोगहरूको अवस्थामा। तर, सर्टेन रोगहरूमा चाहिँ औषधी अलि लामो समय खानुपर्ने हुन्छ। त्यो कुरा पेसेन्टलाई राम्रोसँग भनिएको हुन्छ। बिरामीलाई रोगको बारेमा भनिएको हुँदैन भने बिरामीको मान्छेलाई भनिएको हुन्छ। यो चिजहरूबाट रोक्नका लागि तपाईं आफैंले नै आफूबाट सुरु गर्नुपर्छ। आफ्नो घरबाट सुरु गर्नुपर्छ।

निस्कर्षमा यो न्युरो साइक्याट्रिक समस्या पछिल्लो समय बढ्दै गइरहेको छ भन्न सक्छौं? बालबालिकाको उमेर समूहमा पनि बढेको छ?
मज्जाले भन्न सक्छौं। कोभिडपछि बालबालिकाको उमेर समूहमा पनि बढेको छ। युवा, किशोरमा पनि बढेको छ। कोभिडको कुरा मात्र रहेन, आर्थिक समस्याको कुरा मात्र रहेन, बुबाआमाले समय दिन नसक्नु यसमा विभिन्न फ्याक्टरहरू छन्। धेरै फ्याक्टरहरूको रोल छ। आमाबुबाको दोष अथवा पैसाको कमी यो कुनै एउटा चिज छैन।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर