प्रधानमन्त्रीको भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिनेछ : परराष्ट्रमन्त्री साउद

परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिने बताएका छन्।

प्रधानमन्त्री दाहाल यही जेठ १७ गते भारतको चारदिने औपचारिक भ्रमणमा जाँदैछन्।

२० गतेसम्म हुने प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाइने उनले बताए।

भ्रमणका क्रममा व्यापार तथा पारवहन, हवाई तथा स्थल यातायात सम्बन्ध, भौतिक पूर्वाधार विकास, आर्थिक सहयोगलगायतका मुद्दाहरू अगाडि बढाइने मन्त्री साउदको भनाइ छ।

उनले भ्रमणमा नेपालमा जलविद्युत उत्पादन बढाउने र उत्पादनमा भारतीय लगानी सुनिश्चित गर्ने कुरालाई मुख्य जोड दिइने बताए।

उनले भारतीय भूमि प्रयोग गरी बंगलादेशमा ऊर्जा व्यापार गर्ने कुरामा भारतको सहयोग लिने भ्रमणको मुख्य विषय रहेको बताए।

मन्त्री साउदले सरकारले भारतसँग गरेका सम्झौताहरूको पूर्ण कार्यान्वयन नहुने गरेको भन्दै यस भ्रमणमा भने सम्झौता गरेका कुराहरूको पूर्ण कार्यान्वयन हुने दाबी गरे। कार्यान्वयनको सुनिश्चितता गर्न नसके भ्रमणमा भएका सम्झौताको कुनै अर्थ नरहने उनको भनाइ छ।

भ्रमणका क्रममा पञ्चेश्वर परियोजना निर्माणदेखि पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डीपीआरलाई पनि अघि बढाउन प्रस्ताव राखिने उनले बताए।

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा चलायमान बनाउन भारतसँगका केही असमझदमारीलाई हटाउने बारेमा पनि छलफल हुने उनले बताए।

प्रधानमन्त्री दाहालको भारत भ्रमणमा परराष्ट्रमन्त्री साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल पनि जाने भएका छन्।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखर र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर