१० वर्षभन्दा कम उमेरको बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्ड दिनुपर्छ : पूर्णकुमारी सुवेदी

नेकपा(माओवादी केन्द्र)की सांसद पूर्णकुमारी सुवेदीले दश वर्षभन्दा कम उमेरको बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्ड दिइनुपर्ने बताएकी छिन् ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । सुवेदीले कानुन बनाएपनि कार्यान्वयन फितलो हुने गरेको उल्लेख गर्दै कानुन कार्यान्वयन हुनुपर्नेमा जोड दिइन् ।

उनले बलात्कारका अन्य मुद्दामा पनि कडाभन्दा कडा कानुन र जरिवानाको व्यवस्था हुनुपर्ने बताइन् ।

बुधबारको बैठकमा बोल्ने अन्य सांसदहरुले पनि दिनप्रतिदिन बलात्कारको घटना बढिरहेको र पीडितले न्याय नपाएको भन्दै कानुनी व्यवस्था कडा बनाउनुपर्ने बताएका थिए ।

समिति बैठकमा ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ माथि संशोधन हाल्ने सांसदहरुले बलात्कारको घटनामा कानूनी दायरालाई कडाइ गर्नुपर्ने बताएका हुन् ।

बैठकमा नेकपा(माओवादी केन्द्र)की सांसद रेखा शर्माले विवाहपछि दाइजोको नाममा गरिने हिंसालाई पनि यौनजन्य हिंसाको रुपमा लिनुपर्ने बताइन् । उनले बलात्कारको घटनामा मिलापत्र गराइनु आपत्तिजनक कुरा भएको भन्दै मिलापत्र गराउनेलाई पनि सजायको दायरा बढाउनुपर्ने बताइन् ।

बलात्कार पीडित नाबालिकाको हकमा १८ वर्ष पुगेपछि कम्तीमा ५ वर्षसम्म उजुरी दिन सकिने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले बलात्कारको घटनामा उजुरी लिन हदम्याद राख्नु नहुने बताइन् । हदम्याद राख्दा अपराधीहरु एउटा घटनाबाट उम्किनसाथ अर्को घटनामा संलग्न हुने उनको भनाइ छ ।

उनले  कानुनी व्यवस्था कडा हुँदापनि बलात्कारको घटना न्यूनीकरण नभएको र अपराधी निरुत्साहित हुन नसकेको भन्दै हदम्याद हटाएमा घटना कम हुँदै जाने उल्लेख गरिन् ।

नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले बलात्कारको घटनामा उजुरी दिन सकिने विद्यमान कानुनी व्यवस्थाको समयसीमा अपर्याप्त रहेको बताइन् । बलात्कारको घटना मानवताविरोधी, हिंस्रक र जघन्य अपराध भएकाले यस्तो घटनालाई सिमाको घेराभित्र राख्नु नहुने उनको भनाइ छ । उनले यौन हिंसाको सुनुवाई गर्ने द्रूत न्याय प्रणाली हुनुपर्ने बताइन् ।

नेकपा(एमाले)का सांसद झपट रावलले बलात्कारको विषयलाई वर्गीकरण गरेर हेर्नुपर्ने बताए । उनले विभिन्न उमेर समूह र प्रकृतिअनुसार बलात्कारको घटनालाई वर्गीकरण गर्दै सोही अनुरुपको कानुनी व्यवस्था गर्नुपर्ने बताए ।

उनले यौन हिंसाको घटनामा बालिकाहरु मात्रै नभइ बालकहरु पनि पीडित हुने भन्दै पीडित बालकहरुलाई समेत सम्बोधन हुनेगरी कानून बन्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर