आफ्ना मन्त्रीहरुको राजीनामा खल्तीमा बोकेर हिँडेको अध्यक्ष नेपालको दाबी

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केही मन्त्रीहरुले आफूलाई राजीनामा पत्र बुझाइसकेको दाबी गरेका छन् ।
अखिल नेपाल महिला संघ (समाजवादी) को केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकलाई आईतवार सम्बोधनगर्दै अध्यक्ष नेपालले केही मन्त्रीहरुले सरकारबाट फिर्ता हुनका लागि आफूलाई राजीनामा पत्र बुझाइसकेको बताएका हुन् ।

मन्त्रीहरुले राजीनामा पत्र बुझाउँदै पार्टीले आवश्यकता अनुसार सो पत्र बाहिर ल्याओस् भनेको उनले जानकारी दिए । उनले सो राजीनामा पत्र गोजिमा लिएर हिँडिरहेको भन्दै कुनैपनि बेलामा सो पत्र सार्वजनिक गर्ने उल्लेख गरे ।

अध्यक्ष नेपालले अन्य मन्त्रीहरुले पनि आफूलाई राजीनामा पत्र पठाउनेमा विश्वास व्यक्त गरे । उनले मन्त्रीपरिषद् पुनर्गठनका लागि पार्टीले पठाएको पत्र पर्याप्त रहेको भन्दै सो आधारमा सरकारले तुरुन्त मन्त्रीपरिषद् पुनर्गठन गर्नुपर्ने बताए ।

‘व्यक्तिहरुको बानि के छ भने आफू बसिसकेपछि हट्नै नचाहने प्रवृत्ति छ । उठाइएका विषयवस्तुहरुका बारेमा हामी धेरै वहस किन गर्न चाहिरहेका छैनौँ भने यो धेरै वहसमा किन उत्रिने ? अहिले वहसमा धेरै नउत्रिऔँ । तर सबैलाई म भन्न चाहन्छु, पार्टीको इमान्दार कार्यकर्ताले पार्टीको एउटा निर्णय थाहा पाउने बित्तिकै सम्मान गर्न, पालन गर्न तयार हुनुपर्छ । तब सबैले सम्मान गर्छन् । आफूले पालन गरिएन, दशओटा बहाना खोजियो भने आफूले भनेका कुराहरु कसैले मान्ने छैनन् । तपाई राम्रो नेता बन्न सक्नुहुन्न । राम्रो नेता बन्न चाहने मान्छेले व्यवहारमा आफ्नो पार्टीको निर्णयलाई लागू गरेर देखाउनु पर्दछ । यस काममा मलाई खुशी लागेको छ, केही मन्त्रीहरुले राजीनामा पत्र मलाई दिनुभएको छ,’ नेता नेपालले भने ।

अध्यक्ष नेपालले गठबन्धन सरकारलाई निरन्तरता दिइने समेत बताए । उनले गठबन्धन सरकार कायम रहने उल्लेख गर्दै गलत कुराका बिरुद्धमा भने संघर्ष गर्ने बताए ।

उनले भने, ‘सबैलाई समेटेर अगाडी बढ्ने क्रममा नै हामी अहिले गठबन्धनलाई निरन्तरता दिने पक्षमा छौँ । यो गठबन्धन सरकार कायम रहन्छ । केही केही समस्या छन् भने पनि जुध्ने पनि । संघर्ष र एकता । गलतकुराका बिरुद्धमा संघर्ष । सही कुराको निम्ति एकता । एकता भनेको निशर्त हुँदैन । एकता भनेको सशर्त हो । जनतालाई कष्ट दिने, सताउने कुरामा एकता हुनसक्छ ? भ्रष्टाचार हुने कुरामा एकता हुनसक्छ ? भ्रष्टिकरण गर्ने प्रवृत्तिलाई प्रोत्साहन दिने कुरामा एकता हुनसक्छ ? सक्दैन । हामी भ्रष्टिकरणको बिरुद्धमा छौँ । स्वच्छताको पक्षमा छौँ । सुशासनको पक्षमा छौँ ।’

अध्यक्ष नेपालले आगामी निर्वाचनमा गठबन्धन नभएपनि सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिनेगरी तयार रहन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिए । प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक मत जम्मा गर्नका लागि सबै निर्वाचन क्षेत्रहरुमा डमी उम्मेदवारको रुपमा भएपनि उम्मेदवार खडा गर्नुपर्ने बताए ।

उनले संगठन निर्माण र प्रचार–प्रसारको काममा सक्रियतापूर्वक लाग्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *