नेपाल कुनैपनि सामरिक र सैन्य रणनीतिका गठबन्धनको सदस्य बन्दैन : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाललाई कुनैपनि सामरिक वा रणनीतिक गठबन्धनमा प्रवेश नहुने स्पष्ट पारेका छन् ।

सोमवार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा परराष्ट्र मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरुको जवाफ दिदैँ मन्त्री खड्काले नेपालको राष्ट्रिय हित र असंलग्न परराष्ट्र नीतिको विपरित हुनेगरी कुनैपनि सामरिक वा रणनीतिक गठबन्धनमा नेपाललाई प्रवेश नगराइने बताए ।

उनले सरकारले अवलम्बन गरेका नीतिका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा बढेको समेत बताए ।

उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति थप प्रभावकारी देखिएको दाबी गरे ।

‘छिमेकी मित्रराष्ट्र, दक्षिण एशियाली मुलुक, प्रमुख शक्तिराष्ट्र, विकास साझेदार लगायत सबै राष्ट्रहरुसँगको सम्बन्ध अझ मैत्रीपूर्ण एवं सहयोगात्मक बनेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा तथा उपक्षेत्रिय मञ्चमा नेपालको उपस्थिति थप प्रभावकारी देखिएको छ,’ मन्त्री खड्काले भने ।

मन्त्री खड्काले अन्तर्राष्ट्रिय सीमाको नियमित रुपमा निरीक्षण गर्नेगरी सरकारले कार्यक्रम तय गरेको बताए । लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका नेपाल, भारत सीमा सम्बन्धी समस्या समाधानका लागि सरकारले भारतसँग कुटनीतिक स्तरमा वार्ताको प्रयास गरिरहेको समेत सदनलाई मन्त्री खड्काले जानकारी दिए ।

उनले भने, ‘राजनीतिक तथा कुटनीतिक भेटघाट तथा भ्रमणको आयोजना गर्दा नेपालले अवलम्वन गर्दै आएको स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिलाई ध्यानमा राखेर नै गरिने व्यहोरा म यस सम्मानित सदन समक्ष निवेदन गर्न चाहन्छु । मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, स्वाधिनता, सीमानाको सुरक्षा, सिमा व्यवस्थापन जस्ता विषयहरुमा सरकार गम्भिर रहेको व्यहोरा म सम्मानित सदनसमक्ष निवेदन गर्न चाहन्छु । अन्तर्राष्ट्रिय सिमाको नियमित रुपमा निरीक्षण गर्नेगरी कार्यक्रम तय भएका छन्।’

उनले मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, स्वाधिनता, सीमानाको सुरक्षा र सीमा व्यवस्थापन जस्ता विषयहरुमा सरकार गम्भिर रहेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *