अहिले शोधनान्तर घाटाको अवस्था आउनुमा ओली सरकार दोषी : प्रचण्ड

नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिले शोधनान्तर घाटाको स्थिति आउनुमा केपी ओली नेतृत्वको पूर्ववर्ती सरकार जिम्मेवार रहेको बताएका छन् ।

सोमबार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष दाहालले वर्तमान शोधनान्तर घाटाको स्थितिको जिम्मेवार केपी ओली नेतृत्वको सरकार र तत्कालिन अर्थमन्त्री युवराज खतिवडा भएको बताएका हुन् ।

उनले नेकपा(एमाले)का महासचिव शंकर पोखरेलतर्फ लक्षित गर्दै आफू वामपन्थी तथा कम्युनिष्ट एकताको पहलकर्ता रहेको उल्लेख गर्दै बुर्जुवासँग मिलेर समाजवादको कुरा गरेको भन्न नमिल्ने बताए । उनले देशमा भएको राजनीतिक परिवर्तनलाई मन नपराउनेले परिवर्तन अनुरुपको ऐन, कानुन निर्माण गर्न नचाहेको पनि बताए ।

अध्यक्ष दाहालले विगतमा नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा एमसीसीको बारेमा अध्ययन गर्न आयोग बनाउने प्रस्ताव आफूले राखेको कुरा हेक्का राख्न आग्रह गरे ।

उनले एमसीसीलाई व्याव्यात्मक घोषणामार्फत पारित गरेको उल्लेख गर्दै एसपीपीलाई खारेज गराउन आफूहरुले नेतृत्वदायी भुमिका खेलेको बताए ।

उनले कम्युनिष्टहरु हरेक विषयको वैज्ञानिक ढंगले विश्लेषण, संश्लेषण गर्न सक्षम हुने बताए । उनले कम्युनिष्टहरु बिग्रिएमा बिग्रिएको अण्डाजस्तै हुने टिप्पणी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर