प्लटिङका कारण अन्नबाली उत्पादन घट्यो : ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थालेको बताएका छन् ।

बुधबार अखिल नेपाल किसान राष्ट्रिय महासंघले भक्तपुरमा आयोजना गरेको धान दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले नेपाल धान बालिका लागि उपयुक्त स्थान रहेको भन्दै यसलाई दोब्बर गुणाले वृद्धि गर्नुपर्ने आवश्यक रहेको बताए ।

उनले नेपाल कृषिप्रधान देश भएपनि खाद्यान्न आयात गर्नुपर्ने अवस्था रहेको भन्दै यसलाई विस्थापित गरी नेपालमा उत्पादकत्व र उत्पादन बढाउन जरुरी रहेको बताए ।

अध्यक्ष ओलीले सहकारीका माध्यमहरु अपनाएर र खण्डीकरणतर्फ होइन, चाक्लाबन्दी र ठूलो मात्रामा कुनैपनि चिजको उत्पादन गर्नेतिर लाग्नुपर्ने बताए ।

उनले धान खेतीलाई नेपालमा बचाउन जरुरी रहेको भन्दै अहिले धेरै ठाउँमा अनावश्यक ढंगले अव्यवस्थित बस्ती, प्लटिङ सिस्टम र घडेरी बनाउने कुराले अन्नबाली उत्पादन बढाउने कुरामा कमी आइरहेको बताए ।

अध्यक्ष ओलीले कृषिप्रधान देशले खाद्यान्नहरु बढी मात्रामा आयात गर्नु अशोभनीय भएको बताए । उनले धान, मकै, गहुँ जस्ता खाद्यवस्तु पनि बाहिरबाट आयात गर्नु दुःखद भएको बताए । उनले लापरबाही र असावधानीका कारण यस्ता गल्ती भइरहेको भन्दै यसलाई सच्याएर अघि बढ्नुपर्ने बताए ।

अध्यक्ष ओलीले असावधानी र लापरबाहीलाई सच्याएर खाली जमिन राख्न नदिने हो भने कृषिलाई आधुनिकीतर्फ बढाएर व्यवसायीकरण गर्दै उत्पादकत्व वृद्धि गर्न सकिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर