सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाटै वितरण गर्नुपर्छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा भत्तालाई बैंकिङ प्रणालीमार्फत नै वितरण गर्नुपर्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल’मा बोल्दै उनले सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीमार्फत नै वितरण गर्नुपर्ने बताएका हुन् ।

उनले बैंकिङ प्रणालीमार्फत नगर्दा भत्ता दिएबापत राज्यले नभई व्यक्तिले जस लिने गरी दुरुपयोग हुने उनले बताए । मन्त्री खाणले ७५३ स्थानीय तहमध्ये ७५२ वटामा बैंक पुगेको र बाँकी एउटा स्थानीय तहमा यही असार मसान्तसम्ममा पुग्ने जानकारी दिए ।

बैठकमा बोल्दै नेकपा (एमाले) की सांसद विमला वि.क.ले कुमारी आमालाई पनि एकल महिलाको रुपमा लिई सामाजिक सुरक्षा भत्ता दिनुपर्ने बताइन् ।

उनले कुमारी आमाहरु सामान्य महिलाको जस्तो जीवनमा फर्किन कठिन हुने भन्दै उनीहरुलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्नुपर्नेमा जोड दिइन् ।

नेकपा (एमाले) का सांसद नवराज सिलवालले लोकप्रियताका लागि बढी सामाजिक सुरक्षा भत्ता बाँड्दा राष्ट्रले धान्न नसक्ने अवस्था आउने हो कि भन्नेतर्फ सचेत गराए ।

उनले श्रम गर्नसक्ने एकल महिलालाई भत्ता दिनुभन्दा आयआर्जनका काममा लाग्न राज्यले प्रेरित गर्नुपर्ने बताए । उनले कुनै श्रममा तथा आयआर्जनमा नजोडिएका एकल महिलालाई मात्र भत्ता दिनुपर्ने धारणा राखे ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले उमेर भएका मान्छेलाई सामाजिक सुरक्षा भत्ता सँगै सीपमूलक तालिम दिएर स्वरोजगार बनाउनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर