माओवादीको केन्द्रीय समितिमा यी ९ एजेन्डामा हुँदै छ छलफल

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक आइतबारदेखि काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको हो । बैठक मंगलबारसम्म चल्ने माओवादी केन्द्रले जनाएको छ ।

बैठकले ९ वटा एजेण्डामा छलफल गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा जानकारी गराएका छन् । उनले बैठकका एजेण्डाहरुमा सहिदहरुप्रति श्रद्धाञ्जली, नयाँ केन्द्रिय कमिटी सदस्यहरुको शपथग्रहण, बैठक सञ्चालन प्रक्रियाबारे पार्टी अध्यक्षबाट जानकारी र प्रदेशहरुको तर्फबाट संक्षिप्त रिपोर्टिङ गर्ने रहेको बताएका छन् ।

प्रदेशको तर्फबाट प्रदेशका अध्यक्षहरुले रिपोर्टिङ गर्ने र मधेस प्रदेशको हकमा भने प्रदेश इन्चार्जले रिपोर्टिङ गर्ने उनले जानकारी दिए । त्यसैगरी बैठकको कार्यसूचीमा अध्यक्ष दाहालबाट वर्तमान राजनीतिक परिस्थितिको सन्दर्भमा रिपोर्टिङ हुने पनि राखिएको छ ।

माओवादी केन्द्रको यस केन्द्रीय कमिटी बैठकको अन्य एजेण्डाहरुमा पोलिटब्यूरो, स्थायी समिति र पदाधिकारीको चयन गर्ने, कार्यविभाजन गर्ने, स्थानीय तहको निर्वाचनको समिक्षा गर्ने, आगामी प्रदेश र संघीय निर्वाचनको तयारी तथा विविध विषयमा छलफल हुने अध्यक्ष दाहालले बताए ।

महाधिवेशनदेखि नै रिक्त रहेको पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरो गठन गर्ने कार्यसूची अध्यक्ष दाहालले पेस गरेसँगै सबै समितिहरु बन्नेमा बैठकमा सहभागी हुन आएका नेताहरु आशावादी देखिएका छन् । अर्कोतर्फ एजेण्डामा राखेर अन्तिममा निर्णय नहुने हो कि भन्ने आशंकापनि नेताहरुले गरेका छन् ।

केन्द्रीय सदस्य लेखनाथ दाहालले यसपटक पार्टीको सबै समितिहरु बन्नुपर्नेमा केन्द्रीय सदस्यहरु एकमत भएको बताए । उनले पार्टीको संगठनात्मक संरचना चुस्त, दुरुस्त नबनाईकन पार्टीलाई व्यवस्थित ढंगले सञ्चालन गर्न नसकिने भएकाले पदाधिकारी लगायतका समिति चयन गर्नु आवश्यक रहेको बताए ।

उनले पार्टी अध्यक्षलाई पार्टीका सबै संरचना चलाउनुपर्ने र राष्ट्रिय राजनीतिमा पनि भुमिका खेल्नुपर्ने भएको हुँदा धेरै बोझ भएको भन्दै अध्यक्षको सहयोगको लागि पनि छिटोभन्दा छिटो पार्टीका समितिहरु बन्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर