इन्डो प्यासिफिक क्षेत्रका सेना प्रमुखको सम्मेलनमा प्रधानसेनापति शर्माले भाग लिने

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आगामी साता अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने इन्डो प्यासिफिक क्षेत्रका सैन्य  प्रमुखको सम्मेलनमा भाग लिने भएका छन् । अमेरिकाको पहल र अस्ट्रेलियाको आयोजनामा साउन ९ देखि ११ गतेसम्म सिड्नीमा वार्षिक सम्मेलनमा आयोजना हुँदैछ ।

सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषदको बैठकले प्रधानसेनापति शर्माको  भ्रमण स्वीकृत गरेको जानकारी गराएका छन् । इन्डो प्यासिफिक क्षेत्रका देशका सेनाका प्रमुख ‘चिफ अफ डिफेन्स’को सम्मेलन प्रत्येक वर्ष आयोजना हुने गरेको छ ।

जसमा यस क्षेत्रको साझा सुरक्षा चुनौति,आपसी सम्बन्धमा सुधार र सुरक्षा सम्बन्ध सुधारको विषयमा छलफल हुने गरेको छ ।
सम्मेलनमा २७ देशका सैन्य प्रमुखको उपस्थिति रहने छ ।

प्रधानसेनापति शर्मा दुई साताअघि मात्रै अमेरिकाको औपचारिक भ्रमण गरेका थिए। अमेरिकामा रहँदा शर्माले अमेरिकी उच्च सैनिक अधिकारीहरूसँग सम्बन्ध सुदृढीकरण विषयमा छलफल गरेका थिए ।

अमेरिकाले इन्डो–प्यासफिक क्षेत्रका सैनिक नेतृत्वसँग रणनीतिक सम्बन्ध विस्तारका लागि सैनिक प्रमुखहरुको सम्मेलनलाई महत्वपूर्ण फोरमका रुपमा अघि बढाएको छ।

भूराजनीतिक र सामरिक अवस्थितिका कारण अमेरिकाले अस्ट्रेलियालाई इन्डो–प्यासिफिक क्षेत्रको महत्वपूर्ण मुलुक मान्दै आएको छ। अस्ट्रेलिया, बेलायत र अमेरिकाबीच ‘अकस’ त्रिपक्षीय सुरक्षा सम्झौता रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *