सत्ता गठबन्धनमा रहेका दलहरुसँग चुनावी तालमेल गर्ने नेपाली काँग्रेसकाे औपचारिक निर्णय

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि सत्ता गठबन्धनमा रहेका दलहरुसँग चुनावी तालमेल गरेर अघि बढने निर्णय गरेको छ ।

नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको सोमबार सम्पन्न बैठकले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पनि चुनावी तालमेल गरेर अघि बढने औपचारिक निर्णय गरेको हो । पार्टीलाई आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा स्पष्ट बहुमततर्फ लक्षित गराउँदै संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढिकरण गर्दैं जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत् सम्बोधन गर्नका लागि केन्द्रीय कार्य समितिको बैठकले सत्ता गठबन्धनमा रहेका दलहरुसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढने निर्णय गरेको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

चुनावी तालमेल गर्दा संविधानको कार्यान्वयन, मुलुकको आर्थिक–सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्धलगायतका विषयमा न्यूनतम साझा धारणा गठबन्धन दलहरुबीच तय गर्दै जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने गरी स्पष्ट खाकासहितको कार्यक्रम पनि आम निर्वाचनमा प्रस्तुत गर्नुपर्ने निष्कर्ष काँग्रेसले निकालेको छ ।

नेपाली काँग्रेसले पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई आचारसंहिता जारी गरी लागूगर्ने निर्णय पनि गरेको छ । केन्द्रीय कार्य समिति बैठकले आचारसंहिता तयार गरेकाले त्यसलाई लागू गरेर पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई जनताप्रति उत्तरदायी बनाउने निर्णय गरिएको पनि पार्टीका प्रवक्ता डा. महतले बताए ।

उनले भने, ‘भाद्र २ गतेदेखि भाद्र २४ गतेसम्मको अभियान संचालन गर्ने पनि पार्टीले निर्णय गरेको छ । नेपाली काँग्रेस नेतृत्वमा रहेको सरकारले स्थानीय तह निर्वाचन व्यवस्थिति र निष्पक्ष रुपमा एकै चरणमा सम्पन्न गराएकोमा केन्द्रीय कार्य समिति बैठक प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँ नेतृत्वको मन्त्रीपरिषदको उच्च कदर गर्दै हार्दिक धन्यवाद व्यक्त गर्दछ । साथै यो बैठक निर्वाचन आयोग, निर्वाचनमा खटिएका कर्मचारी एवम् सम्पूर्ण सुरक्षा निकाय, सञ्चार क्षेत्रलगायत सबैको मेहनत र दक्षताको उच्च प्रशंशा गर्दछ । स्थानीय तह निर्वाचनमा उत्साहपूर्वक सहभागी भएर मुलुकको लोकतान्त्रिक प्रणालीलाई अझ मजबुत बनाउन योगदान पु¥याउने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाईमा यो बैठक बधाईँ ज्ञापन गर्दछ ।’

बैठकले अवधि समाप्त भएर गठन हुन बाँकि रहेका र पूर्णता प्राप्त नगरेका पार्टीमा आवद्ध भातृ संघहरुलाई यही श्रावण मसान्त भित्र गठन र पूर्णता दिने निर्णय पनि गरेको छ । त्यसैगरी पार्टीको आगामी नीति महाधिवेशनको तयारी गर्ने जिम्मेवारी पनि केन्द्रीय कार्य समितिलाई दिने निर्णय गरिएको प्रवक्ता महतले बताए ।

‘नेपाली काँग्रेसको आगामी नीति महाधिवेशनको सम्बन्धमा केन्द्रले आवश्यक तयारी गर्ने । नेपाली जनसम्पर्क साईप्रसबाट पार्टी विधान बमोजिम तोकिएको रकम र आवश्यक कागजातसहित प्राप्त हुन आएका क्रियाशील सदस्यताको नामावली जम्मा ५०१, नविकरण १३० र नयाँ १७१ लाई स्विकृत गर्ने । नेपाली काँग्रेसको विधान २०१७ संशोधनसहितको धारा ४२ (१) क बमोजिम लोकतान्त्रिक आदिवासी महासंघ, नेपाल, नेपाल थारु संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघलाई नेपाली काँग्रेसको भात्रृ संघको मान्यता प्रदान गर्ने । यस अघि नै पार्टी भातृ संस्थाको मान्यता प्राप्त गरिसकेका नेपाल राष्ट्रिय मगर संघ, राष्ट्रिय तामाङ संघ तथा सुभेच्छुक संस्थाको रुपमा मान्यता प्राप्त गरिसकेका नेपाल लोकतान्त्रिक शेर्पा संघ, नेपाल कुमाल संघ, लोकतान्त्रिक नेवाः खल, लोकतान्त्रिक आदिबासी, जनजाति महासंघ, रहनेछ । आदिवासी, जनजाति भित्र रहेका जातजातिहरु थारु बाहेकका संघ, महासंघले गठन गर्न सक्नेछ । नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ, नेपाल लोकतान्त्रिक यातायाता व्यवसायी संघ, लोकतान्त्रिक उद्योग वाणिज्य संघ, नेपाल लोकतान्त्रिक पर्यटक व्यवसायी संघ, नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ, नेपाल लोकतान्त्रिक आयुर्वेद चिकित्सक संघ, नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघ, नेपाल लोकतान्त्रिक भूतपूर्व प्रहरी संघ, नेपाल लोकतान्त्रिक भूतपूर्व कर्मचारी संघ, नेपाल स्वास्थ्यकर्मी संघ, नेपाल सामूदायिक कर्मचारी संघलाई शुभेच्छुक संस्थाको मान्यता प्रदान गर्ने । नेपाल आदिवासी जनजाति संघका संरचनाहरु स्वतहः निष्कृय हुनेछ । पार्टीबाट मान्यता प्राप्त उल्लेखित भातृ संघ र शुभेच्छुक संस्थाको विधानलाई आवश्यक परिमार्जन गरी केन्द्रिय कार्य समितिले अन्तिम रुप प्रदान गर्याे,’ प्रवक्ता महतले भने ।

नेपाली काँग्रेसले महामन्त्री गगनकुमार थापा नेतृत्वको पार्टी सदस्यता व्यवस्थापन केन्द्रीय समिति, केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति र केन्द्रीय सदस्य श्यामकुमार घिमिरे संयोजक रहेको केन्द्रीय लेखा समिति पनि गठन गरेको छ । ती समितिहरुलाई पार्टी सभापति शेरबहादुर देउवाको परामर्शमा पूर्णता दिने निर्णय पनि केन्द्रीय कार्य समिति बैठकले गरेको प्रवक्ता महतले बताए ।

बैठकले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा पार्टी नेतृत्वको गठबन्धन सरकारलाई धन्यवाद समेत व्यक्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर