दिल्ली भ्रमणपछि नयाँ गठबन्धनको तयारी कि पुरानैलाई निरन्तरताका लागि प्रचण्डको सक्रियता?

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनको सम्बन्धमा बिहीवार सम्ममा टुंगोमा पुग्नुपर्नेमा जोड दिएका छन् ।

उनले केही दिनअघि भारतको भ्रमणपछि राजनीतिक सक्रियता बढाउँदै लगेका छन् । यसअघि नेपाल कम्युुनिष्ट पार्टीमा रहँदासमेत प्रचण्डले प्रधानमन्त्रीमा आलोपालोको विषय उठाएपछि केपी शर्मा ओलीको सरकार संकटमा परेको थियो ।

मंगलवार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग सिंहदरबारमा भेटवार्तापछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले गठबन्धनको विषयमा  बिहिबारसम्ममा टुंगोमा पुग्नुपर्नेमा जोड दिए ।

उनले डा. भट्टराईसँग सामान्य राजनीतिक भेटघाट भएको र गठबन्धन बनाउने विषयमा छलफल भएको बताए ।

गठबन्धन बनाउने सन्दर्भमा अरु पार्टीसँग पनि कुरा गर्ने सहमति भएको पनि उनले जानकारी दिए । ‘आजको सामान्य राजनीतिक भेटघाट हो, अरु त्यस्तो केही छैन । गठबन्धन बनाउने विषयमा छलफल चलिराखेको छ । गठबन्धन बनाउने बारे अरु पार्टी सँग पनि कुरा गरौँ । पर्सिसम्म एउटा टुंगोमा पुग्न सकियो भने राम्रो हुन्छ भन्ने कुरा भयो, ’ प्रचण्डले भने ।

अध्यक्ष दाहालले आगामी निर्वाचनमा गठबन्धन गर्ने नेपाली काँग्रेस केन्द्रीय समितिको निर्णय सही भएको बताए । उनले आफूहरु गठबन्धन लिएर जाने पनि बताउनु भयो । उनले भने ‘काँग्रेसले सहि निर्णय गरेको छ । हाम्रो पनि यही गठबन्धन लिएर जाने भन्ने छ । यो गठबन्धनमा यता उता गर्ने भन्ने हाम्रो कहिँ कतै छैन । बाबुरामजी पनि गठबन्धनमै हुनुहुन्छ नि । यो गठबन्धन कुनै हालतमा छोड्दिन भन्ने छ बाबुरामजीको ।’

अध्यक्ष दाहालले डा. बाबुराम भट्टराईलाई जनता समाजवादी पार्टी, नेपालले कारबाही गरेपनि उनी गठबन्धनमै रहेको स्पष्ट पारे । भेटवार्तामा भट्टराईले गठबन्धन कुनै हालतमा नछोड्ने प्रतिवद्धता गरेको पनि अध्यक्ष दाहालले बताए ।

यस्तै मंगलवार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा तत्कालिन नेकपाका सचिवालय सदस्यहरु प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।

भेटवार्ताको क्रममा विचार मिल्नेहरुका बीचमा एकताको बारेमा छलफल भएको माओवादी केन्द्रका अध्यक्ष दाहालले बताएका छन् । उनले पार्टी एकताको बारेमा चर्चा गरिएको उल्लेख गर्दै सो एकता सत्तारुढ गठबन्धनको बिरुद्धमा भने नभएको स्पष्ट पारे ।

‘हामी नेकपा कालका सचिवालयका बहुमत सदस्यहरु छौँ । हामी अस्तिपनि एकपटक बैठक बस्यौँ । आज दोस्रो बैठक बस्यौँ । आजको बैठकमा हामीले मुख्यतः अहिले सबै पार्टीहरुले आ–आफ्नो निर्णय गरेका छन् । नेपाली काँग्रेसको पनि केन्द्रिय समिति बैठक हिजो सकियो । उहाँहरुको निर्णय गठबन्धन गरेर जाने, तालमेल गरेर जाने भन्ने भएको छ । त्यो बारेमा पनि हामीले चर्चा ग¥यौँ । एमालेका निर्णयहरु पनि आइराखेका छन् त्यस बारेमा पनि चर्चा गर्याे । यो गठबन्धनलाई चाहीँ कायम राखेरै जानुपर्छ भन्नेमा हामी कसैको पनि विमति छैन । तर कसरी प्रभावकारी बनाउने, स्थानीय तहको निर्वाचनको अनुभवलाई पनि ध्यान दिएर अझ प्रभावकारी कसरी बनाउने भन्ने बारेमा हाम्रो चर्चा भइराखेको छ एकातिर । अर्कोतिर हिजो हामी नेकपा त एउटै पार्टीवाला भयौँ । त्यसो भएको हुनाले विचार मिल्नेहरुको बिचमा एकताको सम्भावना बारे पनि हामी छलफल गरिराखेका छौँ । त्यो भनेको यो गठबन्धनको बिरुद्ध भनेको होइन है । पार्टी एकिकरणको बारेमा चर्चा गरेको छौँ ।’

अध्यक्ष दाहालले गठबन्धनलाई कायम राखेर जानमा कसैको पनि आपत्ति नभएको बताए । उनले गठबन्धनलाई प्रभावकारी बनाउने विषयमा पनि चर्चा भएको उल्लेख गरे ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर