‘मन्त्री बनेर आउँदा हाँसेर आएको हुँ, जाने बेलामा अझ बढी हाँसेर जान्छु’

शहरी विकासमन्त्री मेटमणि चौधरीले मन्त्री पदबाट हट्दा पनि आफू हाँसेरै जाने टिप्पणी गरेका छन् । मंगलबार संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले मन्त्री भएर आउँदा आफू हाँसेर आएको र जाने बेलामा त्योभन्दा अझ बढी हाँसेर जाने बताएका हुन् ।

बैठकमा सांसदहरुले निवर्तमान शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मन्त्रालयबाट बिदाइ हुँदा रोएकोतर्फ संकेत गर्दै मन्त्री चौधरीलाई हाँसेरै जान शुभकामना दिएका थिए । त्यसको जवाफ दिने क्रममा उनले जाने बेलामा आफू अझ बढी हाँसेर जाने बताए । मन्त्री चौंधरीले मन्त्रीको रूपमा आफू सधैं नरहने कुरा प्रष्ट्याउँदै पदमा रहुन्जेल सांसदहरूले दिएको सुझावलाई ग्रहण गरेर अघि बढ्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।

‘माननीय जीहरूले शुभकामना दिने बेलामा धेरै महत्त्वपूर्ण सुझावहरू दिनुभएको छ । आउँदा खुसी भएर आउने, जाने बेला रुने कुरा पनि भन्नुभएको छ,’ मन्त्री चौधरीले भने, ‘मलाई क्लियर के छ भने मन्त्री हुुने कुरा रेगुलर प्रोसेसको कुरा हो । म सधैंभरि रहिरहदिनँ । त्यसैले म आउँदाखेरि जसरी हाँसेर आएको छु, जाँदाखेरि त्योभन्दा बढी हाँसेर जान्छु ।’

मन्त्री चौधरीले सरकारले एक हप्ताभित्र ‘शहरी विकास सम्बन्धी नीति’ सार्वजनिक गर्ने जानकारीसमेत गराए । विगत १५ वर्षदेखि ल्याउने भनिएको सो नीति अन्तिम चरणमा पुगेको र त्यसलाई अब सार्वजनिक गरिने उनको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *