‘स्थानीय निर्वाचनले पम्प्लेट र ब्यानरले जनताको मन जित्न नसकिने रहेछ भन्ने धारणा स्थापित गर्‍यो’

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संघीयता कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन कोशेढुंगा सावित भएको बताएका छन् । बुधवार काठमाडौंमा आयोजित विभिन्न पर्यवेक्षण संस्थाहरूले बुझाएको स्थानीय तह निर्वाचनको प्रतिवेदनमाथि समीक्षा गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो बताएका हन् ।

उनले आगामी प्रदेश र संघिय तहको निर्वाचन तोकिएको समयमै गर्नुपर्ने स्पष्टता पनि स्थानीय तहको निर्वाचनले दिएको बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले स्थानीय तहको निर्वाचनले स्थानीय तहमा महिलाको प्रतिनिधित्व र लैंगिक एवं समावेशिताको अभ्यास अब मजबुत भएको संकेत दिएको बताए ।

उनले सबै क्षेत्रमा लैंगिक समावेशिताको कुरा कानून संशोधन गरेर अझै बढाउने प्रक्रियामा रहे पनि गत स्थानीय तहको निर्वाचनले महिलाहरूको प्रतिनिधित्व र समावेशी सुनिश्चितता शृंखला स्पष्ट बनेको बताए । उनले स्थानीय तहको निर्वाचनले पम्प्लेट, ब्यानर जनताको मन जित्न नसकिने रहेछ भन्ने धारणा स्थापित गर्नु अर्को सफलता भएको बताए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रदेशको मुख्यमन्त्री बन्न पाए हुन्थ्यो भन्नेहरू पनि राजीनामा दिएर स्थानीय तहको निर्वाचनमा सहभागी हुनुले स्थानीय तहप्रतिको, निर्वाचनप्रतिको आकर्षणलाई पनि वृद्धि गरेको अनुभुति भएको बताए ।

उनले आगामी स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुखको एउटा मतपत्र, वडा अध्यक्ष र सदस्यहरूको अर्को मतपत्र हुने व्यवस्था गर्न लागेको पनि बताए ।

उनले आगामी निर्वाचनमा प्रमुख र उपप्रमुखको मत गणना केन्द्रमा अर्थात् निर्वाचन अधिकृतको कार्यालयमा, बाँकी मतपत्र वडामै गन्ने र वडाबाटै नतिजा प्रकाशन गर्ने गरेर कानूनको तयारी गरिरहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *