ललितपुर महानगरले किन्ने सबै सवारीसाधन विद्युतीय: मेयर महर्जन

ललितपुर महानगरपालिकाको नगर प्रहरी क्विक रेस्पोन्स टिमले ५ वटा विद्युतीय स्कुटर सञ्चालनमा ल्याएको छ ।

बिहिबार नगर प्रहरीले एक कार्यक्रम आयोजना गरेर ५ वटा विद्युतीय स्कुटर सञ्चालनमा ल्याएको हो । महानगरवासीका समस्या तत्काल समाधान गर्ने हेतुले विद्युतीय स्कुटर सञ्चालनमा ल्याएको नगर प्रहरीले जनाएको छ ।

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाले आगामी दिनमा किन्ने सबै सवारीसाधन विद्युतीय हुने घोषणा गरे । उनले पेट्रोल, डिजेल र मट्टितेलले चल्ने सवारीसाधन नहुने दाबी गरे ।

महर्जनले क्विक रेस्पोन्स टिमलाई यी स्कुटर महानगरभित्र तत्काल केही समस्या पर्दा सो क्षेत्रमा तत्काल पुग्ने गरेर खरिद गरिएको बताए । उनले सानो कुराले पनि ठूलो परिवर्तन गर्ने र महत्त्व राख्ने भएकाले सानो काम भए पनि महत्त्त्वपूर्ण काम गरेको उल्लेख गरे ।

पाटन शहर २४सै घण्टा सुत्दैन भन्ने अवधारणा अघि बढाएर लैजाँदा सुरक्षाको महत्त्व पनि त्यत्तिकै हुने भएकोले सिसिटिभी जडानको काम भइरहेको उनको भनाइ छ ।

प्रमुख महर्जनले महानगरपालिकाले अहिले अत्याधुनिक दमकल खरिद गर्ने काम भइरहेको पनि बताए । उनले पार्किङ रेखदेख, ट्राफिक जाम, मापदण्डविपरीत राखिएका अनधिकृत विज्ञापन तथा होर्डिङ बोर्ड हटाउन र कारबाही गर्न स्कुटरसहित टोली परिचालित हुने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *