चिकित्सकबाट भएका त्रुटिमा पनि कानूनी उपचार खोज्नुपर्छः चिकित्सक संघ महासिचव रिजाल

नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन, २०७९ कार्यान्वयन गर्न सबै सरोकारवाला निकायहरू एकजुट हुनुपर्ने बताएको छ ।

संघीय संसद्अन्तर्गत गत असार २९ गते बसेको प्रतिनिधि सभको बैठकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन, २०७९ पारित गरेको थियो । जसलाई काार्यन्वयनमा लैजान सबै सम्बन्धित पक्षहरू एकजुट भएर लाग्न संघले आग्रह गरेको हो ।

नेपाल चिकित्सक संघका महासचिव डा.बद्री रिजालले संसदबाट पारित ऐन कार्यान्वयनमा लैजान सबै पक्षले चासो र महत्त्व दिनुपर्ने बताए । बिहिबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले ऐन पारित भएर कार्यान्वयनमा जटिलता रहे पनि सबैले मिलेर यसलाई कार्यान्वयन गर्नुपर्ने बताए ।

महासचिव रिजालले ऐन पारित हुनु ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै ऐनको बारेमा सर्वसाधारणलाई सुसूचित गराउन आवश्यक रहेको बताए । उनले नेपालमा संसद्बाट पारित भएका सबै ऐनहरू कार्यान्वयनमा गइसकेको अवस्था नरहेको विगत स्मरण गर्दै यसलाई कसरी कार्यान्वयन गर्ने भन्नेमा संघ लागिपरेको बताए । महासचिव रिजालले कानून ल्याउन लागेको समय जति नै कार्यान्वयन गराउन संघर्ष गर्नुपर्ने अवस्था रहेको स्पष्ट पारे ।

महासचिव रिजालले चिकित्सक संघ कानूनभन्दा माथि जाने कुराको सुनिश्चितताका लागि लडिरहेको नभई सुरक्षित वातावरणमा आफ्नो सीप उपयोग गर्न पाउने कुरा खोजिरहेको बताए । उनले स्वास्थ्यकर्मी सुरक्षित भएमात्र पूर्ण र राम्रो उपचार हुने भन्दै चिकित्सकबाट भएका त्रुटिमा पनि कानूनी उपचार खोज्नुपर्ने बताए । तोडफोडजन्य गतिविधिले दुवै पक्षलाई राम्रो नहुने भन्दै उनले अराजक व्यवहार देखाउने नभई कानूनी दायरामा जानुपर्ने कुरा जनमानसमा बुझाउन आवश्यक रहेको बताए ।

स्वास्थ्यकर्मीको सुरक्षा र स्वास्थ्य केन्द्रबारेमा पारित भएको ऐन कतिपय प्रमुख सरकारी निकायका व्यक्तिहरूलाई नै जानकारी नरहेको भन्दै यसबारेमा सबै पक्षलाई जनकारी गराउन आवश्यक रहेको उनले बताए । ऐन कार्यान्वयन भएमात्र चिकित्सा क्षेत्रमा र स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपिने रिजालको जिकिर थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *