आरजुलाई प्रधानमन्त्री र शेरबहादुरलाई राष्ट्रपति बनाउने कुरा गिरोहले चलाएको आपराधिक हल्लाः प्रचण्ड

नेकपा (माओवदी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा काँग्रेस नेतृ आरजु राणा देउवा र आफूबीच भेटको विषयमा गिरोहले षड्यन्त्र बनाएर प्रचार गरेको बताएका छन् ।

शनिवार जनकपुरमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा उनले आगामी निर्वाचनपछि आरजुलाई प्रधानमन्त्री र राष्ट्रपतिमा शेरबहादुर देउवालाई बनाउने भन्नेकुरा कुनै गिरोहले गरेको आपराधिक हल्ला भएको बताए ।

उनले सो कुरामा कुनै सत्यता नरहेको भन्दै यो हुनै नसक्ने कुरालाई प्रचार गरिएको दाबी गरे । अध्यक्ष दाहालले झुटो कुरालाई अन्तर्राष्ट्रिय स्तरमा समेत प्रचार गरिएको बताए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नभेट्नुको कारण कसैलाई प्रधानमन्त्री र राष्ट्रपति बनाउने भन्ने विषयलाई लिएर नरहेको स्पष्ट पारे ।

उनले तथ्यहीन र षड्यन्त्रमुलक प्रचारबाजीबाट सबै सतर्क हुन आवश्यक रहेको पनि बताए । अध्यक्ष दाहालले तत्कालीन सत्ता गठबन्धन चुनावसम्म रहनेमा शंका नगर्न आग्रह समेत गरे ।

अध्यक्ष दाहालले भने, ‘यो सबै हावा कुरा हो । यो एकखालको भ्रम फैलाउने कुनै न कुनै गिरोहले गरेको आपराधिक हल्ला हो । त्यसमा कुनै सत्यता छैन, हुन सक्दैन । आरजु उपचारको क्रममा दिल्लीमा हुनुहुन्थ्यो, उहाँको स्वास्थ्य लाभको कामना गरेको हो । त्यो यति प्रचारमा लगियो कि अन्तर्राष्ट्रिय स्तरमा पनि प्रचार भएछ । यस्ता वाहियात, तथ्यहीन र षड्यन्त्रमुलक कुराबाट जोगिनुहोला ।’

अध्यक्ष दाहालले नागरिकता समस्या समाधान गरेर जनताको समस्या समाधान गर्न पाएकोमा आफू निकै उत्साहित रहेको बताए । उनले अहिले नेकपा समाजवादी केन्द्र वा वामपन्थी एकताको विषयमा समेत छलफल भइरहेको बताए । अध्यक्ष दाहालले चुनावी वामपन्थी मोर्चा बनाउने कुरामा चाँडै निस्कर्षमा पुग्ने घोषणा गरे ।

उनले भने, ‘जसपा एकरुपमा फुटिसकेको अवस्था छ , यस अवस्थामा बाबुराम जी, माधवकुमार नेपाल जी र उपेन्द्र यादवसँग वामपन्थी एकता वा समाजवादी केन्द्र वा चुनावी मोर्चा बनाउने विषयमा छलफल भइरहेको छ, अगाडी भने औचापरिक रुपमा कुनै टुंगोमा पुगेको छैन छिट्टै यस विषयमा निर्णय हुनेछ ।’

अध्यक्ष दाहालले वामपन्थी एकता लगायतको विषयमा गठबन्धन भित्र रहेका दलहरुसँग समेत छलफल भइरहेको बताए । दाहालले दिल्लीमा काग्रेस नेतृ आरजु देउवा र आफु बिचमा कुनैपनि प्रकारको सम्झौता नभएको स्पष्ट पारे ।

उनले भने ‘केही षडयन्त्रकारीहरुले यसलाई तन्काएर षडयन्त्रपूर्ण तरिकाले उठाउन खोजेका छन्, यसमा कुनै सत्यता छैन् । ’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर