अपांग नागरिकलाई सम्मानजनक जीवन जिउने बनाउन सरकार गम्भीर : मन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले सरकारले अपांगता भएकाहरूको लागि बजेटको मात्रा बढाउने प्रतिवद्धता जनाउनुभएको छ । शनिबार काठमाडौंमा भएको विपद्मा प्रयोग हुने सवारी साधन, उपकरण तथा अपांगता सहायता सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

गृहमन्त्री खाणले नेपालमा अपांगहरूको संख्या धेरै रहेको र अपांग नागरिकलाई सम्मानजनक जीवन जिउने कसरी बनाउने भन्ने कुरामा सरकार गम्भीर रहेको बताए । उनले पछिल्लो समय सरकारले अपांग भएकाहरूलाई पनि जीवनवृत्तिका लागि सानो भए पनि मासिक केही रकम दिने निर्णय गरेको उल्लेख गर्दै रकम अपुग भए पनि बजेटअनुसार निर्धारण गरिएको बताए ।

गृहमन्त्री खाणले प्रारम्भिक आधारशील सोचमा परिवर्तन ल्याउन जरुरी रहेको बताए । उनले आर्थिक र शारीरिक रूपमा कमजोर रहेकालाई समान स्तरमा ल्याउन सानैबाट स्कुलिङ हुन जरुरी रहेको बताए ।

गृहमन्त्री खाणले नेपालका आधुनिक कार्यालयहरू अझै पनि अपांगमैत्री हुन नसकेको भन्दै सरकारले पछिल्लो समय सरकारको सबै कार्यालयहरूमा अपांगमैत्री भवन बनोस् भन्ने निर्देशन गरिसकेको बताए । उनले सरकारले बिस्तारै अपांगमैत्री भवन वा नीति निर्माण गर्ने कुरामा ध्यान दिन थालेको बताए ।

गृहमन्त्री खाणले राष्ट्रिय अपांग कोषको नयाँ भवनका लागि सरकारले सहयोग गर्ने पनि बताए । उनले राष्ट्रिय अपांग कोष र समाज कल्याण परिषद्को स्टोर रूम आगलागी भएको घटनाको छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंहलाई निर्देशन दिए ।

कार्यक्रममा राष्ट्रिय अपांग कोषका अध्यक्ष डेकराज भट्टराईले नेपालमा अपांगता भएको व्यक्तिलाई दोस्रो दर्जाको रूपमा लिने गरेको भन्दै यस्तो सोचबाट मुक्त समाजको निर्माण गर्न आवश्यक रहेको बताए । उनले संसारका जुनसुुकै देशमा अपांगता भएको नागरिक पहिलो दर्जाको नागरिक हुने गरे पनि नेपालमा त्यसको विपरीत अवस्था रहेको बताए ।

अध्यक्ष भट्टराईले ३३ लाख भन्दा बढी अपांगहरू आबद्ध रहेको संस्था निरीह अवस्थामा पुग्नु दुःखद् भएको बताए । उनले हालै राष्ट्रिय अपांग कोष र समाज कल्याण परिषद्को स्टोर रूम आगलागीले क्षतविक्षत भएकोले सहयोगको अपेक्षा गरेको र पुनर्निर्माण हुनेमा विश्वस्त रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर