पर्यटन क्षेत्र पुनरुत्थानका लागि ‘नेपाल भ्रमण दशक’ घोषणा गर्दै सरकार

सरकारले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने भएको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो ।

पर्यटनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार सम्हाल्ने क्रममा गरेको ‘रिकोभरी प्लान’ ल्याउने निर्णयअनुसार आइतबार मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गरेको हो ।

कार्ययोजना प्रस्तुत गर्दै मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक तीन महिनाभित्र घोषणा गरिसक्ने गरी तयारी गरिरहेको बताए । उनले पर्यटन क्षेत्रमा अनवरत योगदान गर्ने व्यक्तिहरूलाई सम्मानस्वरूप परिचयपत्र दिने कार्यजना बनाएको पनि बताए ।

सहसचिव लुइँटेलले नेपालमा विदेशी चलचित्र छायांकनको लागि विदेशी चलचित्र निर्माता र कलाकारहरूलाई आकर्षण गर्ने विभिन्न सहुलियतहरूको व्यवस्था गरिने बताए । उनले सरकारले सगरमाथा आधार शिविरबारे अध्ययन गर्न समिति गठन गर्ने पनि बताए ।

सहसचिव लुइँटेलले कार्ययोजना प्रस्तुत गर्दै सगरमाथा आधार शिविरको ऐतिहासिकता, वर्तमान अवस्था र भविष्यको जोखिम सम्बन्धमा अध्ययन गर्न सगरमाथा आधार शिविर अध्ययन समिति गठन गरी त्यसैको सुझावका आधारमा आधार शिविरको वैज्ञानिक व्यवस्थापन गरिने बताए ।

त्यस्तै काठमाडौं उपत्यकालगायत अन्य पर्यटकीय स्थलहरूमा पर्यटनको बसपार्क निर्माणको कामलाई ६ महिनाभित्र अगाडि बढाउने घोषणासमेत गरिएको छ ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मन्त्रालयले घोषणा गरेको ७३ बुँदे कार्ययोजनाले कोरोना महामारीले परेको असरलाई पुनरुत्थान गरी पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्ने काम गर्ने दाबी गरे । मन्त्री श्रेष्ठले सरकारले नेपाललाई विश्वको एक पर्यटन आगमनको केन्द्र बनाउने गरी काम गर्ने तयारी गरेको जानकारी दिए ।

उनले विगतमा कुनै एक वर्षलाई भ्रमण वर्षको रूपमा मनाएर पर्यटन क्षेत्रको विकास गर्ने गरिएको भए पनि वर्तमान सरकारले एक दशकलाई नै नेपाल भ्रमण वर्ष मनाउने घोषणा गर्ने बताए । मन्त्री श्रेष्ठले नेपाल भ्रमण वर्ष दशककै रूपमा मनाउँदा पर्यटन प्रवद्र्धन र विकासको अभियान नै भएको बताए ।

उनले पर्यटन प्रवद्र्धन र विकासको अभियान निरन्तर रूपमा लगेमात्र सरकारले पर्यटन विकासमा लिएका लक्ष्य र चाहना पूरा हुने जिकिर गरे । मन्त्री श्रेष्ठले नेपाल भ्रमण दशक घोषणा मन्त्रालयको मात्रै नभई सरकारको कार्ययोजना भएको बताए । यनले भ्रमण दशकबारे प्रधानमन्त्री शेरबहादुर देउवासमेत सकारात्मक रहेको बताए ।

मन्त्रालयले कोरोना महामारीबाट सिथिल बनेको पर्यटन क्षेत्र पुनरुत्थानको लागि गैरआवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान’समेत चलाउने घोषणा पनि गरेको छ । त्यस्तै मन्त्रालयले हिमाल आरोहणको लागि ५ हजार ८ सय मिटरदेखि ८ हजार मिटरसम्मका थप हिमचुलीहरूको आरोहण ६ महिना भित्र खुला गर्ने तयारी गरेको छ ।

त्यस्तै प्रयोगमा नआएका विमानस्थललाई वैकल्पिक प्रयोगमा ल्याइने घोषणासमेत मन्त्रालयले गरेको छ ।

काठमाडौं उपत्यकाभित्र रात्रीकालिन पर्यटनको प्रारम्भ र प्रवद्र्धन गर्न काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रीकालीन सम्पदा यात्रा आगामी दुई वर्षभित्र सञ्चालन गर्ने तयारी रहेको बताएको छ ।

किलिन नेपाल, ग्रिन नेपालको अवधारणाअन्तर्गत प्रदेश, स्थानीय सरकार ,नागरिक समाज र निजी क्षेत्रसँग सहकार्य गरी महत्त्वपूर्ण पर्यटकीय स्थलहरूमा राष्ट्रिय सरसफाइ एवं रङरोगन अभियान एक महिनाभित्र चलाउने घोषणा गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर