देश पूर्ण रूपले अभिभावकविहीन छ : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अहिलेको सरकार सत्ता टिकाउनमै केन्द्रित रहेको आरोप लगाएका छन् ।

आइतबार नेपाल प्राज्ञिक परिषद् केन्द्रीय कार्यसमितिले आयोजना गरेको नेपालको वर्तमान अवस्था तथा वैकल्पिक मार्ग चित्रको आवश्यक्ता विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

अध्यक्ष लिङदेनले अहिले देशको परिस्थिति सामान्य आँखाले देखेजस्तो नरहेको उल्लेख गर्दै देश पूर्ण रूपले अभिभावकविहीन भएको बताए । उनले अहिलेको सरकारका लागि भ्रष्टाचार र बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गर्नेलगायतका विषयहरू सामान्य विषय बनेको बताए ।

अध्यक्ष लिङदेनले नेपाली जनताको चाहना विपरीत एमसीसी, एसपीपी सम्झौता गर्ने र देशलाई कमजोर बनाउने काम भइरहेको बताए । उनले कुनै पनि बेला देशले आफ्नो अस्तित्व गुमाउन सक्ने अवस्था देखिन थालेको भन्दै चिन्ता व्यक्त गरे ।

अध्यक्ष लिङदेनले देशलाई दुर्घटनाबाट बचाउन सचेत नेपालीहरू एकजुट हुनुपर्ने बेला भएको बताए । उनले अहिले सत्तामा रहेका दल र नेतृत्वहरूबाट देश विकास र सुधार हुन नसक्ने भन्दै राजनीतिमा नै परिवर्तन गर्न जरुरी रहेको उल्लेख गरे ।

अध्यक्ष लिङदेनले देशमा रहेका विद्यमान समस्याको समाधान पूर्ण समानुपातिक सांसद, अभिभावकीय संस्थाको रूपमा राजा, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहेको बताए । उनले आफ्नो पार्टी आउने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा यो मुद्दालाई मुख्य विषय बनाएर जनताको बीचमा जाने उद्घोष गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर