
‘काठमाडौं र धरानमा उदाएका युवाहरूको आवाजलाई सिंगो राष्ट्रले बुलन्द गरिरहेको छ’

सभामुख अग्निप्रसाद सापकोटाले काठमाडौं र धरानमा उदाएका युवाहरूको आवाजलाई सिंगो राष्ट्रले बुलन्द गरिरहेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित राष्ट्रमा जीपीएस समृद्ध अभियानको शुभारम्भ गर्दै सभामुख सापकोटाले काठमाडौंका मेयर बालेन साह र धरानका मेयर हर्क साम्पाङलाई संकेत गर्दै यस्तो बताएका हुन् ।
उनले अहिले राष्ट्रमा काठमाडौं र धरानलगायतका स्थानमा युवाहरूको आवाजरूपी संकेतको रूप देखा परेको बताए । सभामुख सापकोटाले युवाहरूको आवाज बुलन्द गर्ने छिटपुट संकेत देखा परे पनि साइरनरूपी यी संकेतको भाषा बुझ्न आवश्यक रहेको बताए ।
उनले पर्याप्त फलफुल, तरकारी, खाद्यान्न उत्पादन गर्ने नेपालजस्तो उर्वर भूमिमा २ खर्ब ५० करोडको खाद्यवस्तु आयात हुनु दुःखद् भएको बताए । सभामुख सापकोटाले खरानीसमेत नेपालमा आयात हुन्छ भन्ने सुन्दा अचम्मित भएको बताए ।
सभामुख सापकोटाले विश्वभर अराजकता र एक प्रकारको अन्तरविरोध मडारिन थालेको बताए । उनले संसारको ध्यान व्यापार, हतियारको होडबाजी रसैन्य क्षेत्रमा नै केन्द्रित भइरहेको उल्लेख गरे । उनले नेपालमा पनि राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।
सभामुख सापकोटाले जलवायु परिवर्तनका असर र प्रभावहरू एकपछि अर्को गरेर गम्भीर रूपमा देखा परिरहेको उल्लेख गर्दै यसलाई समाधान गर्ने दिशमा अघि बढ्न आवश्यक रहेकोमा जोड दिए । उनले जलवायु परिवर्तनका अकल्पनीय घटना भइरहेको बताए ।
सभामुख सापकोटाले जलवायु परिवर्तनको शिक्षालाई राम्रोसँग अध्ययन गर्न नसके र यसका असर, प्रभावका बारेमा विश्लेषण गर्ने र बच्नेतिर ध्यान दिन नसके ठूलो दुर्घटना हुने बताए । उनले नेपालले अहिले हरित क्रन्तितिर नै ध्यान दिनुपर्ने आवश्यक्ता रहेको भन्दै पर्यावरण र वातावरण संरक्षणमा ध्यान दिन अति जरुरी भएको बताए ।
- शेयर बजारको ओरालो यात्रा : नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट
- आमनिर्वाचनमा सेवानिवृत्त सुरक्षाकर्मीलाई पहिलो प्राथमिकतामा राख्न आयोगको सुझाव
- नागरिकता विधेयक प्रमाणीकरणमा जसपाको प्रश्न : राष्ट्रपति राष्ट्रको हुन्छ कि कुनै पार्टी विशेषको ?
- वैदेशिक रोजगारीबाट फर्केकाहरूका लागि पुनःएकीकरण कार्यक्रम तत्काल कार्यान्वयन हुन्छ : मन्त्री कुवँर
प्रतिक्रिया