
उद्यमीको संरक्षण र विकासका लागि ‘बिजनेस इन्कुबेटर्स सेन्टर’ : मन्त्री बडू


उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकभर उद्यमीको संरक्षण र विकास गर्न सरकारले बजेटमार्फत ‘बिजनेस इन्कुबेटर्स सेन्टर’खोल्ने घोषणा गरेको बताएका छन् ।
सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको बिजनेस इन्कुबेटर कन्फरेन्समा बोल्दै मन्त्री बडूले यस्तो बताएका हुन् ।
उनले अहिले मुलुकमा औद्योगिक रुपान्तरणको आवश्यकता भएको भन्दै औद्योगिक रुपान्तरणको लागि सरकारले चालु आर्थिक वर्षको बजेटमा सातै प्रदेशमा सात इन्कुबेटर्स सेन्टर बनाउने घोषणा गरेको बताए । मन्त्री बडूले सरकारले पहिलो प्राथमिकतामा राखेर मुलुकभित्र नै उत्पादन बढाउने र नयाँ स्टार्टअप उद्यमीको प्रवद्र्धधनमा जोड दिएको बताए ।
उनले सरकारले बिजनेस इन्कुबेटर कन्फरेन्सलाई अझ व्यापक बनाउन निजी क्षेत्र तथा त्रिभूवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र नास्टसँग सहकार्य गर्न लागेको बताए । बिजनेस इन्कुबेटर कन्फरेन्सको लागि सरकारले छुट्याएको बजेट प्राप्त भने नभएको स्वीकार गरे ।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उधमशिलता विकास र रोजगारी सिर्जना गर्न स्टार्टअप आवश्यक भएको बताए । उनले नेपालमा स्टार्टअप उद्यमीको सफलताको दर कम रहेको भन्दै स्टार्टअप यो सफलताको दर बढाउन इन्कुबेसन सेन्टर आवश्यक भएको दाबी गरे ।
अध्यक्ष गोल्छाले सरकारले नेपाली युवालाई देशभित्र नै भविष्य बनाउनको लागि इन्कुबेसनमा लगानी गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
बिजनेस इन्कुबेटर कन्फरेन्सले घोषणापत्र जारी गर्दै सन् २०३० सम्म देशलाई स्टार्टअप नेसन बनाउने र स्टार्टअप इको सिस्टम बनाएर एक लाख रोजगारी सिर्जना गर्ने पनि घोषणा गरेको छ । कन्फरेन्स नेपाल सरकार, उद्योग वाणिज्य महासंघ, अन्तरप्रेरणा, इसिमोड र नेदरल्याण्डको पुम संस्थाको सहकार्यमा गरिएको थियो ।
- गठबन्धनले जति प्रयास गरे पनि एमालेलाई बहुमत ल्याउनबाट रोक्न सक्दैन : ओली
- शिक्षक र शैक्षिक संस्थालाई गाली गरेर देशको शिक्षा सुधार हुँदैन : मन्त्री पौडेल
- संस्थापक पक्षले टिकट वितरणमा मनपरी गरे त्यसकाे परिणाम गम्भीर हुन्छ : अर्जुननरसिंह केसी
- सरकारले प्राथमिक स्वास्थ्यको संरचना बनाएर काम नगरे स्वास्थ्य बीमा थेग्न सक्दैन : गगन थापा
प्रतिक्रिया