३ अर्ब लगानीमा विराटनगरमा पाँचतारे होटलसहितको सेञ्चुरियन मल खोल्दै पूर्वराज्यमन्त्री दुगड

पूर्वउद्योग राज्यमन्त्री, सांसद तथा उद्योगी मोतिलाल दुगडले ३ अर्ब लगानीमा विराटनगरमा सेञ्चुरियन मल सञ्चालन गर्ने भएका छन् ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उद्योगी दुगडले चाँडै विराटनगरमा ३ अर्बको लगानीमा बनेको मलमा पाँच तारे होटल सेञ्चुरियन सञ्चालनमा ल्याउने बताए ।

उद्योगी दुगडले प्रदेश १ मा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मलमा पाँचतारे होटलसहित एउटै छानामुनी कर्पोरेट, कमर्सियल, सपिङ मल, मनोरञ्जन सुविधा उपलब्ध हुने बताए । उनले सेञ्चुरियन मल करिब डेढ बिघा क्षेत्रफलमा फैलिएको बताए ।

उद्योगी दुगडले पाँच तारे होटल सेञ्चुरियनको सञ्चालन र व्यवस्थापन अन्तर्राष्ट्रिय चेन होटल रेडिसनले गर्ने जानकारी दिए । उनले स्तरीय होटल १८ महिनापछि सञ्चालनमा आउने पनि बताए ।

उद्योगी दुगडले विराटनगरस्थित विमानस्थलबाट ४.२ किलोमिटर तथा भारतबाट १५ मिनेटको दूरीमा अवस्थित होटलमा स्वदेशी, भारतीय र तेस्रो मुलुकका पर्यटकलाई ल्याउन सकिने बताए । उनले सेञ्चुरियन होटलमा आउने पाहुनहरूले मलभित्रै सपिङ र मनोरञ्जनको सुविधा लिनसक्ने बताए ।

उनले होटलमा १४० कोठा, क्यासिनो,स्वीमिङ पुल, जीम, स्पा, १० हजार स्क्वायर फिटको विशेष प्रकारको रेष्टुराँ तथा बैंक्वेट र फिल्म हलको सुविधासमेत उपलब्ध हुने बताए ।

सेञ्चुरियन मलमा अन्तर्राष्ट्रिय ब्राण्डका कफीशपलगायत अन्य ब्राण्डहरूसमेत रहने भएकाले अन्तर्राष्ट्रिय पर्यटकलाई धेरैभन्दा धेरै आकर्षित गर्न सकिने विश्वास रहेको सञ्चालक दुगडले बताए । उनले नेपालमा यस्ता भौतिक पूर्वाधार र सेवासुविधा भएको पूर्वाधार बनेपछि मात्रै नेपालको पर्यटन क्षेत्रको विकास हुने र मुलुक समृद्ध बन्ने बताए ।

दुगडले नेपालमा अथाह सम्भावना रहेको तर जोखिम मोल्नुपर्ने बताए । सेञ्चुरियन मलमा नेपालकै एउटा युनिक आयोजना रहेको दाबी उनले गरे ।

सोमबार नै अन्तर्राष्ट्रिय चेन होटल रेडिसनसँग सञ्चालन र व्यवस्थापनको लागि सम्झौतामा हस्ताक्षर भएको छ । दुगडले विगत लामो समयदेखि सेन्चुरी मसला उद्योगलगायत अन्य धेरै उद्योगहरू सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर