आउँदो मन्त्रीपरिषद् बैठकले संसदीय निर्वाचनको मिति घोषणा गर्नसक्छ : प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी मन्त्रीपरिषद्को बैठकमा प्रदेश र संघको निर्वाचन मिति घोषणा हुनसक्ने बताएका छन् ।

मंगलबार निर्वाचन परिणाम तथा खर्च सार्वजनिकीकरणका लागि पत्रकार सम्मेलनपछि सञ्चारकर्मीहरूले सोधेका प्रकोश्न जवाफ दिँदै उनले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन मिति तोक्न सरकारसँग परामर्श गरेको र आयोगले परामर्श गरेको समयमा निर्वाचन मिति तोकिँदा आश्चर्य मान्न नपर्ने बताए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्नको निम्ति आयोगले सम्पूर्ण व्यहोरासहित एकै चरणमा निर्वाचन गर्ने गरेर मिति सिफारिस गरेको बताए ।

उनले आगामी निर्वाचनमा झन्डै ८ करोड मतपत्र छाप्नुपर्ने र खर्च पनि बढ्ने बताए । आगामी निर्वाचनमा मतपेटिका, कर्मचारीको संख्या पनि बढ्ने भएकोले खर्च पनि सोहीअनुसार वृद्धि हुने स्पष्ट पारे ।

उनले सर्वोच्च अदालतबाट अस्थायी मतदाता नामावलीमा नाम समावेश गरेर कैदीबन्दीहरू, वृद्धाश्रममा बसेका ज्येष्ठ नागरिकहरू, निर्वाचनको काममा विभिन्न ठाउँमा खटिएका कर्मचारीहरू, सेना, प्रहरीलगायतका व्यक्तिहरू र कर्मचारीहरूलाई पनि मतदानको अधिकार दिनुपर्छ भनेकाले मतदान स्थलको संख्या र खर्च बढी हुने बताए । उनले आयोगले अन्तिम मतदाता नामावली प्रकाशित गरिसकेपछि फेरि अस्थायी मतदाता नामावलीको अर्को प्रक्रिया प्रारम्भ गर्ने बताए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले सरकारले पनि यही आर्थिक वर्षदेखि तलबभत्ता पनि १५ प्रतिशत बढाएअनुसार निर्वाचनमा खटिने कर्मचारीलाई तलबभत्ता दिनुपर्ने कारण पनि खर्च बढ्नसक्ने बताए । उनले समानुपातिक तर्फको पनि मतगणना र नतिजा र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्म निर्वाचन आयोगको काम भएकोले खर्च बढ्ने बताए । उनले मितव्ययी निर्वाचनको नारामा आयोग नचुक्ने दाबी गर्दै आयोगले निर्वाचनको लागि तयारी सुरु गरिसकेको उल्लेख गरे ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले नेपालको निर्वाचन इतिहासमा खर्च नबुझाउनेहरूलाई ठूलो कारबाही गर्ने चेतावनी दिए । उनले १ लाख ५६ हजार उम्मेदवारहरू रहेको र करिब १ लाख जना कारबाहीको भागिदार बन्नसक्ने बताए ।

उनले काठमाडौं उपत्यका बाहेकका अन्य पाँच जिल्लामा पनि अहिले अनलाइन मतदाता नामावली रजिस्ट्रेशनको प्रक्रिया सुरु गरिएको र आगामी निर्वाचन सकिएपछि देशभर नै यो सेवा उपलब्ध हुने बताए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले विद्युतीय प्रणालीबाट चुनाव गराउने कुरा यसपटक सम्भवप्रायः नदेखिएको बताए । उनले सरकारले विद्युतीय मेसिन उपलब्ध गराएको खण्डमा निर्वाचन आयोग विद्युतीय प्रणालीबाट मतदात गराउन तयार रहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर