महँगीविरुद्ध थाल ठटाएर राप्रपाको प्रदर्शन, माग पूरा नभए तेस्रो चरणको आन्दोलन गर्ने चेतवानी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारले आफ्नो माग पूरा नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ ।

बुधबार काठमाडौंमा बढ्दो महँगीविरुद्ध दोस्रो चरणको आन्दोलन गरेको राप्रपाले महँगीविरुद्ध पार्टीले सरकारलाई गराएको ध्यानाकर्षणको अवहेलना भए तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको हो ।

बुधबार राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले संघीय राजधानी काठमाडौंसहित देशभरका जिल्ला सदरमुकाममा थाल ठटाएर विरोध प्रदर्शन गरेको थियो । काठमाडौंको भृकुटीमण्डप, ललितपुर, भक्तपुरलगायत मुख्य शहरमा पनि विरोध प्रदर्शन गरेको राप्रपाले जनाएको छ ।

विरोध प्रदर्शनपछि सञ्चारकर्मीहरूसँग बोल्दै राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी अध्यक्ष एवं राप्रपा नेतृ अञ्जना रावलले आफूहरूले सरकारलाई बढ्दो महँगीको बारेमा ध्यानाकर्षण गराइसकेको तर सरकारले कुनै चासो नदेखाएकाले शान्तिपूर्ण रूपमा दोस्रो चरणको आन्दोलन बुुधबारबाट सुरु गरेको बताइन् । उनले संगठनले बुधबार शान्तिपूर्ण रूपमा थाल ठटाएर आन्दोलन गरेको र आगामी दिनमा माग पूरा नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिइन् ।

‘राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार दोस्रो चरणको आन्दोलन सुरु गरेको छ । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अगुवाइमा सरकारले गरेको महँगीको विरुद्धमा हामी सरकारलाई ध्यानाकर्षण गराउनको लागि थाल ठटाएर सडकमा आएका छौं,’ उनले भनिन्, ‘हाम्रो दोस्रो चरणको आन्दोलन पनि सुनुवाइ भएन भने तेस्रो चरणको आन्दोलन भदौको पहलिो हप्तामा सुरु गर्नेछौं ।’

महँगीले नेपालीहरूको भान्सा महँगो भएको भन्दै जनता यस्तो अवस्थामा खान नसक्ने अवस्थामा पुगेकाले आन्दोलन गर्नुपरेको उनको भनाइ छ ।

राप्रपाले पछिल्लो समय महँगी, भ्रष्टाचारविरुद्ध सडकमा आन्दोलन गर्दै आएको छ । राप्रपाले महँगीलाई नियन्त्रण गरेर जनतालाई राहत पुर्‍याउन सरकारलाई ध्यानाकर्षण गराउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर