अर्थतन्त्र सुधारका लागि बन्द उद्योग सञ्चालनमा ल्याउनुपर्छ : मन्त्री बडू

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जनकपुर चुरोट कारखाना सरकारले सञ्चालनमा ल्याउने तयारी गरेको बताएका छन् ।

बुधबार उद्योगमन्त्री बडूले विगत लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखानाको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले सरकारको स्वामित्वमा सञ्चालन भई नाम कमाएर पनि बन्द भएको चुरोट कारखानाका मेसिनहरूको अध्ययन गरेर उपयोगमा आउने मेसिनलाई सञ्चालनमा ल्याउने बताए ।

मन्त्री बडूले सरकारले राष्ट्रिय उत्पादन बढाउनको निम्ति भएका उद्योगहरूको क्षमता वृद्धि गर्ने, पूर्ण क्षमतामा चलाउने, नयाँ उद्योग खोल्ने र रुग्ण उद्योग सञ्चालनमा ल्याउने योजना बनाएको बताए ।

उनले पुराना उद्योगहरू पूर्ण क्षमतामा चलाउने र नयाँ उद्योग खोल्न स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई विभिन्न सहुलियत दिएर सरकारले आकर्षित गर्ने र सरकारको स्वामित्वमा रुग्ण उद्योगहरू निजी क्षेत्रसँग सहकार्य वा निजी क्षेत्रलाई भाडामा दिएर भए पनि सञ्चालनमा ल्याउने उल्लेख गरे ।

मन्त्री बडूले अहिले सरकारको स्वामित्वमा रहेका विराटनगर जुटमिल, जनकपुर चुरोट कारखाना, हेटौंडा कपडा उद्योग, बुटवल घागो उद्योग, गोरखकाली रबर उद्योग बन्द रहेको बताए । उनले मुलुकको आर्थिक अवस्था सुधार गर्न, व्यापार घाटा कम गर्न, आयात प्रतिस्थापन गर्नको लागि बन्द उद्योग सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता रहेको जिकिर गरे ।

मन्त्री बडूले मुलुक आयातमुखी भइरहेको अवस्थामा राष्ट्रिय उत्पादन बढाउन जरुरी रहेको बताए । उनले मुलुकको उत्पादन बढ्यो भने आयात कम गर्न सकिने दाबी गरे ।

मन्त्री बडूले अब निजी क्षेत्र र सरकार दुवैले निर्यातजन्य उद्योग स्थापना गर्नुपर्ने बताए । उनले सरकारले चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा निर्यात उद्योग चलाउनको लागि विशेष सहुलियत दिने नीति बनाएकोसमेत बताए । मन्त्री बडूले जनकपुर चुरोट कारखाना पुनः सञ्चालनमा ल्याउनको लागि निजी क्षेत्र र प्रदेश सरकारसँग पनि समन्वय गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर