नेपालबाट विदेश निर्यात हुने सुपारीको डीएनए परीक्षण गर्नुपर्ने

नेपालबाट विदेश निर्यात हुने सुपारीको डीएनए परीक्षण गर्नुपर्ने भएको छ । शुक्रबार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकले सुपारी र उत्पादन भएको स्थान परीक्षण गर्न निर्देशन दिएको हो ।

विदेशबाट अवैध रूपमा नेपाल भित्रिएको सुपारी पुनः विदेश पठाउँदा नेपालमा उत्पादन भएको उत्पत्तिको प्रमाणपत्र भेटिन थालेपछि सरकारले नै चासो बढाएको छ । पछिल्लो समय निर्यात गर्न पाएको इजाजतभन्दा बढी सुपारी विदेश निर्यात हुन थालेको गुनासो बढ्दै गएपछि समितिले चासो देखाएको हो ।

समितिले शुक्रबारको बैठकमा छलफलपछि सुपारीको डीएनए परीक्षण गरेर मात्र आयात, निर्यात गर्न निर्देशन भएको छ ।

समितिको बैठकमा भन्सार विभागका प्रमुख कमलप्रसाद भट्टराईले स्थानीय कृषिज्ञान र नेपाल उद्योग वाणिज्य संघले उत्पादनको प्रमाणसहित सिफारिस गरेपछि सामान्य प्रक्रिया पु¥याएर निर्यात गर्न दिने गरेको बताए ।

केही दिनअघि विराटनगर भन्सारबाट भारततर्फ निकासी भइरहेको सुपारी बोकेको ट्रकलाई नेपाल प्रहरीले रोकेर फिर्ता ल्याई अनुसन्धान गरिरहेको छ । प्रहरीले अवैध भएको आशंकामा नियन्त्रणमा लिएको सुपारीबारे राजनीतिक दलका शीर्ष नेतातहरूमा समेत सम्बन्ध जोड्न थालिएको छ ।

समितिको बैठकमा अर्थ मन्त्रालयका राजस्व सचिव कृष्णहरि पुष्करले अर्थ मन्त्रालय र भन्सार विभागले व्यापार सहजीकरणमा मात्र जोडिने भएकाले सबै दायित्व नहुने बताए । सुपारीको उत्पादन, व्यापार व्यवसायबारे अध्ययन भइरहेकाले त्यसको स्थानीय राजनीतिक कारण पनि खोज्नुपर्ने सचिव पुष्करले बताए ।

त्यस्तै बैठकमा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले विराटनगर भन्सार नजिक नियन्त्रणमा लिइएको सुपारी अनुसन्धानको क्रममा रहेको बताए । बरामद सुपारी बोकेको ट्रकमा भारतीय भन्सारको सिल लागेको उनले बताए ।

उनले यसरी नेपालबाट भारततर्फ जाने मालवाहक गाडीमा नेपालको भन्सारको सिल लाग्नुपर्नेमा भारत भन्सारको सिल पाइएकाले शंका उब्जाएको र अनुसन्धानको विषय बनेको बताए ।

बैठकमा सांसदहरूले नेपालमा आयात र निर्यात हुने सुपारीको विषयमा गहन अध्ययन हुन आवश्यक रहेको बताएका छन् । सांसदहरूले सुपारीमा राजनीतिक र अन्य सम्बन्ध खोज्न आवश्यक रहेको पनि बताएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर