फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन दिएनः मन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको दाबी गरेका छन् । शनिवार काठमाडौंको वंघ इन्द्रचोक र ऐतिहासिक वंघ दबूको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरे ।

उनले गिरोहका विषयमा भने केही बताएनन् ।

तर, पछिल्लो समय काठमाडौं महानगरपालिकालाई बेलायतको एउटा छद्म कम्पनी मार्फत कामका लागि दबाब दिने काम भइरहेको छ । सो कम्पनीले चीनको सहयोगमा फोहर व्यवस्थापनको ठेक्का लिने प्रक्रिया अघि बढाएको हो । यसले देशको ठुलो धनराशी खर्च हुनुका साथै फेरि एकपटक चिनियाँ चलखेल फोहरको बहानामा भित्रने निश्चित हुनेछ ।

मन्त्री श्रेष्ठले फोहोरमैला सामान्य कुरा भएपनि फोहोरमैला भित्रकै गिरोहले यसलाई ठूलो कुरा बनाइरहेको बताए । उनले स्थानीय तहले नै अब फोहोरमैलालाई श्रोतबाट नै व्यवस्थापन गर्नेतर्फ लाग्नुपर्ने बताए ।

मन्त्री श्रेष्ठले स्थानीय सरकारलाई फोहोरमैला व्यवस्थापन गर्ने कुरामा संघीय सरकार सहयोगका लागि तयार रहेको बताए । उनले पर्यटन मन्त्रालयले यी समस्या समाधानका लागि मठमन्दिरहरुमा सरसफाई गर्न राष्ट्रिय अभियान शुरु गर्न लागेको बताए । उनले सरसफाईको योजना पूरा गर्न संघ, प्रदेश र स्थानीय सरकारको बीचमा समन्वय आवश्यक रहेको पनि बताए ।

मन्त्री श्रेष्ठले नाइट टुरिजम व्यवस्थित बनाउन पर्यटकीय स्थल, मठमन्दिर र सम्पदालाई सुन्दर र संरक्षित बनाउँदै सुरक्षित बनाउन आवश्यक रहेको उल्लेख गरे ।

मन्त्री श्रेष्ठले कतिपय नागरिकलाई प्रदेश र स्थानीय सरकार बलियो छ भन्ने कुरा अहिलेसम्म पनि बुझाउन नसकेको बताए । उनले सिंहदरबारबाट स्थानीय र प्रदेशमा अधिकार सरिसकेको कुरा नागरिकमा बुझाउन आवश्यक रहेको बताए । उनले स्थानीय जनसमुदायको पनि सक्रियतामा कमी भएकोले यसलाई जगाउन आवश्यक रहेको उल्लेख गरे ।

उनले भने, ‘अहिले पनि प्रदेश सरकार छ, स्थानीय तह बलियो छ भन्ने कुरा धेरैलाई अनुभुति नै भएको छैन । सबैजना सिंहदरबारमा मात्रै जान खोज्नुहुन्छ । सिंहदरबारमा नै बजेट माग्न जानुपर्छ भन्ने सोच छ । बजेट फ्रिज भएर बसेको छ, त्यसमा मागन जानुपर्छ । प्रदेश सरकार दिन तत्पर छ, विकासको लागि बजेट । स्थानीय जनसमुदायको पनि सक्रियतामा कमी भएको छ । जसले धेरै कराउन र माग्न आउँछ त्यसैलाई सरकारले बजेट दिन्छ ।’

कार्यक्रममा बोल्दै वागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारसँग पैसा खर्च गर्न नसकेर फ्रिज भएको अवस्था रहेको भन्दै विकासका लागि बजेट माग्न आग्रह गरे । उनले मन्त्रालयले विकासका लागि आवश्यक बजेट दिन तयार रहेको बताए ।

मन्त्री जम्कट्टेलले योजना लिएर आउने युवाहरुलाई विकासका काम गर्न पैसाका चिन्ता नगर्न आग्रह गरे ।

मन्त्री जम्कट्टेलले विकासको काममा आउने युवालाई पार्टीको नजरले हेर्न नहुने बताए । उनले काठमाडौंको विकासका लागि नयाँ ढंगले बहस गर्न आवश्यक रहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर