महिला तथा बालबालिकाको बेचबिखन र ओसारपसारको नियन्त्रणमा कुनै कसर बाँकी राख्दैनौं : मन्त्री रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिला तथा बालबालिकाको बेचबिखन र ओसारपसारको रोकथाम, नियन्त्रण तथा सजाय दिने काममा आफ्नो मन्त्रालयले कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

मन्त्री रेग्मीले पीडित महिला तथा बालबालिकाहरूको हेरचाहका लागि बनेका पुनर्स्थापना केन्द्रका लागि आफ्नो मन्त्रालयले बजेट कम भए पनि विनियोजन गरिरहेको स्पष्ट पारिन् ।

सोमबार संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले खासगरी महिला र बालबालिकाको बेचबिखन र ओसारपसार संवेदनशील विषय भएकाले आफ्नो मन्त्रालयले स्रोत र साधनले भ्याएसम्म त्यस्ता अपराधको रोकथाम तथा नियन्त्रण गर्ने र पीडितलाई राहत दिनेगरी पुनर्स्थापना केन्द्रलगायतको व्यवस्था गरेको बताइन् ।

मन्त्री रेग्मीले मानव बेचबिखन तथा ओसारपसारविरुद्धको ऐनलाई यही संसदबाटै पारित गराउने गरी तयारी गरिरहेको पनि जानकारी दिइन् । फाष्ट ट्रयाकबाट त्यसलाई अघि बढाउन कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको सहयोग आवश्यक रहेको पनि उनले बताइन् ।

बैठकमा बोल्दै गृह सचिव टेकनारायण पाण्डेले मनोरञ्जनको क्षेत्रमा हुने मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण तथा रोकथामका लागि सरकारले आवश्यक सुरक्षाकर्मीहरू परिचालन गरेको बताए । मानव बेचबिखन हुन नदिन स्थानीय तहलाई जिम्मेवार बनाउने गरी गृह मन्त्रालयले काम गरिरहेको उनको भनाइ थियो ।

सचिव पाण्डेले मानव बेचबिखनजस्ता अपराधजन्य काम हुन नदिन सरकारले जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर