बुद्धिजीवी र धनाढ्य बस्ने काठमाडौंमै स्तनपानमा हेलचेक्र्‍याइँ छ : मन्त्री खापुङ

स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले बुद्धिजीवीहरू, धनाढ्य व्यक्तिहरूबाट नै बच्चालाई आमाको स्तनपान गराउने कुरामा हेलचेक्र्‍याइँ भइरहेको बताएका छन् ।

मंगलबार प्रसूति गृह थापाथलीमा बेबी मिल्क बैंक स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री खापुङले विकास निर्माणको अग्रसरतामा पछि परेको कर्णाली प्रदेशमा बच्चालाई स्तनपान गराउने संख्या बढी देखिएकाले बच्चा हुर्काउने र बच्चालाई स्तनपान गराउने मामिलामा बागमती प्रदेशभन्दा कर्णाली प्रदेश नै बौद्धिक देखिएको जिकिर गरे ।

उनले बुद्धिजीवीहरू, धनाढ्य व्यक्तिहरू बस्ने बागमती प्रदेश र काठमाडौंमा बच्चालाई आमाको स्तनपान गराउनेको संख्या सबैभन्दा कम देखिएको बताए । उनले हरेक बच्चाले आमाको स्तनपान गर्न पाउने नैसर्गिक अधिकार भएकाले बच्चाको नैसर्गिक अधिकार हनन गर्न नहुने बताए ।

मन्त्री खापुङले शहरी समाजमा बच्चालाई आमाले स्तनपान गराउने कुरामा भइरहेको कमीका कारण पत्ता लगाएर त्यसको निवारण गर्न आवश्यक रहेको बताए । उनले बच्चालाई आमाले स्तनपान नगराउनु प्रकृतिको नियमविपरीत भएको बताए ।

उनले सप्ताहव्यापी स्तनपान कार्यक्रमलाई नेपालव्यापी रूपमा सफल बनाउन आवश्यक रहेको बताए । उनले सातै प्रदेशमा बेबी मिल्क बैंक स्थापना गर्ने लक्ष्य रहेको उल्लेख गर्दै यसमा सबैले सहयोग गर्न आग्रह गर्दै यो काम आमाको दूध खान नपाएर समस्यामा परेका बच्चाहरूको लागि महत्त्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे ।

उनले सरकारले निःशुल्क भनेर घोषणा गरेका औषधीहरू आवश्यक समयमा जनताले निःशुल्क नपाएको कारण पत्ता लगाएर तत्काल समस्या समाधान गर्न पनि सम्बन्धित निकाय र मन्त्रालयका सचिवलाई निर्देशन दिए । उनले निःशुल्क रूपमा सर्वसुलभ तरिकाले उपलब्ध गराउने गरी सरकारले घोषणा गरेको औषधीको व्यवस्थालाई तत्काल कार्यान्वयन गर्नुपर्ने बताए ।

मन्त्री खापुङले कोरोनाको संक्रमण बढिरहेकाले स्वास्थ्यकर्मीलाई तयारी अवस्थमा रहन र आम नागरिकलाई थप सावधानी अपनाउन आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर