एमालेले भन्यो : विप्लव समूहका नेताविरुद्ध जारी गरिएको पक्राउ पूर्जी फिर्ता हुनुपर्छ

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेतालाई कारबाहीको लागि पत्र पठाएको भन्दै आपत्ति जनाएको छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद विशाल भट्टराईले सरकारले शान्ति प्रक्रियामा आएर प्रतिष्पर्धात्मक गतिविधिमा सहमति जनाइसकेको दललाई पुनः शान्ति प्रक्रियाबाट विथोलेर जनतामा त्रासको वातावरण फैलाएको बताएका हुन् ।

उनले यदि सरकारले विप्लवलगायतका शान्ति प्रक्रियामा आइसकेका नेताहरूलाई पक्राउ पूर्जी जारी गरेको भए त्यसबाट तत्काल पछि हटेर पक्राउ पूर्जी फिर्ता लिनुपर्ने बताए । उनले सरकार अविच्छिन्न रहने भन्दै विप्लव समूहलाई गर्ने भनेको कारबाहीबाट पछि हट्नुपर्ने बताए ।

सांसद भट्टराईले हिंसाको बाटो रोजेको विप्लव र सिके राउतको पार्टीलाई शान्तिपथमा ल्याउन तत्कालीन केपी ओली नेतृत्वको सरकारले धेरै मेहनत गरेको भन्दै यसलाई अहिलेको सरकारले पनि निरन्तरता दिनुपर्ने बताए ।

सांसद भट्टराईले विपद् व्यवस्थापन प्राधिकरण निष्क्रिय भएको भन्दै नेपाल सरकार र स्थानीय सरकारको तर्फबाट केही दिन अघिमात्रै खोटाङमा गएको भूकम्पको क्षति विवरण संकलन गरी जनतालाई राहत दिन आग्रह गरे । उनले भूकम्पको तत्काल क्षतिको विवरण संकलन गर्ने काममा पनि सरकारले ढिलासुस्ती गरेको आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *