शपथ लिएर पालना नगर्नेलाई कारबाहीको व्यवस्था हुनुपर्छ : भीम रावल

नेकपा एमालेका सांसद डा. भीम रावलले निर्दलीय अभ्यासतिर देशलाई धकेलिएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सांसद रावलले नेपालको संविधानको धारा २६९ ले समान विचारधारा, दर्शन, कार्यक्रम भएका व्यक्तिहरू एउटा राजनीतिक दलमा आबद्ध हुनेछन्, त्यस्तो दलले यही कुरा निर्वाचन आयोगमा दर्ता गर्नुपर्ने भन्ने लेखिए पनि यसको खुलेआम उल्लंघन भइरहेको बताए ।

उनले कुनै पनि सार्वजनिक पद धारण गर्ने, शपथ लिनुपर्ने व्यक्तिले आफ्नो जिम्मेवारी वहन गर्दा प्रचलित कानूनको पालना गरी, मुलुक र जनताको भलो चिताइ, कसैको डर नमानी पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिइ इमान्दारिताका साथ गर्नेछु भन्ने कुरा लेखिए पनि देशमा अहिले विदेशीसँग थर्कमान भइ, डर मानी, संविधान मिची, उल्लंघन गरी मनपरी गर्नेछु भन्नेजस्तो चरित्र देखिन थालेको बताए ।

सांसद रावलले शपथ लिइसकेपछि यसलाई कानूनी रूपमा अनिवार्य पालना गर्नुपर्ने, नगरेमा कारबाही गर्ने प्रावधान राख्न माग गरे । सरकारले बिना कुनै हिच्किचाहट माथिल्लो कर्णालीमा जियामार कम्पनीसँग गरिएको सम्झौताको ठाडो उल्लंघन गरेको आरोप उनले लगाए ।

सांसद रावलले विदेशीसँग खुलेआम साँठगाँठको काम तीव्र हुन थालेको भन्दै शपथ ग्रहण कार्यान्वयन नगर्नेलाई कारबाही गर्ने व्यवस्था गरेर ल्याउनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर