गुणस्तरहीन खाद्यवस्तु बिक्री गर्ने ११५ उद्योग, फर्म तथा व्यापारीविरुद्ध मुद्दा

सरकारले गुणस्तरहीन खाद्यवस्तु बेचेर उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने १ सय १५ उद्योग, फर्म तथा व्यापारीविरुद्ध मुद्दा दायर गरेको छ ।

मंगलबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पत्रकार सम्मेलन गर्दै बजार अनुगमन गरी संकलन गरिएका नमुना परीक्षणबाट दोषी देखिएका १ सय १५ उद्योग, फर्म तथा व्यापारीहरुविरुद्ध मुद्दा दायर गरेको जानकारी दिएको हो ।

विभागले गत आर्थिक वर्षमा बजार अनुगमन गरी ४ हजार ६ सय ६० वटा नमुना संकलन गरेको थियो । संकलित नमुनामध्ये ५.४२ प्रतिशत मापदण्डविपरीत पाइएको विभागले जनाएको छ । विभागले अनुमगन गर्दा फल तथा सागपातजन्य पदार्थ सबैभन्दा प्रतिकूल पाइएको बताएको छ ।

पत्रकार सम्मलेनमा बोल्दै विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले परीक्षणबाट फल तथा सागपातजन्य पदार्थका ६१ वटा नमुना दूषित देखिएको बताए ।

उनले खाद्यान्न/दलहनजन्यका ५३ वटा, प्रशोधित पिउने पानीका २९ वटा, दाना पदार्थका १७ वटा, दूध तथा दुग्ध पदार्थका १५ वटा, तेल तथा घिउजन्यका १४ वटा, चिया–कफीका १३ वटा, मसलाका ६ वटा, गुलियो पदार्थका ४ वटा, मासु तथा मासुजन्यको १ र अन्यको ११ वटा गरी जम्मा २ सय २४ वटा नमुनाहरूको परीक्षण प्रतिवेदन प्रतिकुल पाइएको बताए ।

उनले दूषित खाद्यपदार्थ बेचेको अभियोगमा १ सय १५ वटा मुद्दा दायर गरिएकामध्ये खाद्यान्न एवं दलहन तथा सोबाट बनेका पदार्थका सबैभन्दा धेरै ३० वटा रहेको बताए । उनले दूध तथा दुग्ध पदार्थका १९ वटा, दानाको १८ वटा, प्रशोधित पिउने पानीका १४ वटा, चिया तथा कफीका ८ वटा मुद्दा दायर गरिएको बताए ।

त्यस्तै फल तथा सागपातका ७ वटा, मसला पदार्थका ५ वटा, गुलियो पदार्थका ३ वटा, तेल तथा घिउजन्यको २ वटा, सोयाससको १ र अन्य ८ वटाविरुद्ध पनि विभागले जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा मुद्दा दायर गरेको बताएको छ ।

विभागले गत आर्थिक वर्षमा खाद्य दाना उद्योग, होटल रेष्टुरेण्ट, राजमार्गका होटलमा पनि अनुगनम गरेको थियो । विभागले तत्काल सम्बोधन टोली अर्थात् र्‍यापिड रेस्पोन्स टिममार्फत कारबाहीलगायत ८ हजार ८ सय ६६ पटक निरीक्षण गरेको थियो ।

विभागले गत वर्षको अवधिमा ७ सय ३ वटा नयाँ उद्योग स्थापना गर्न सिफारिस गरेको छ भने १ हजार ४ सय ८१ वटा उद्योगको अनुज्ञापत्र नवीकरण गरेको छ ।

यस्तै विभागले गत आर्थिक वर्षमा ६ सय ३६ वटा होटल रेष्टुरेण्टसमेत अनुगमन गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर