गठबन्धनले जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाएर निर्लज्जता प्रकट गर्‍यो : ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ गठबन्धनले जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाएर निर्लज्जता प्रकट गरेको टिप्पणी गरेका छन् ।

‘गोरु नांगो देख्दा आफूलाई लाज लाग्दैन’ भनेर विगतमा आफूले भनेको उल्लेख गर्दै ओलीले शर्मालाई फेरि अर्थमन्त्री बनाउँदा भने ‘गोरु नै लजाएको’ समेत बताए ।

तुलसीलाल अमात्य स्मृति दिवसको अवसर पारेर मंगलबार पार्टी केन्दी्रय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले शर्माको अर्थ मन्त्रालयको पुनरागमनले नेपाली जनताको विवेक र नैतिक धरातलमाथि भीषण हमला भएको उल्लेख गर्दै आक्रोश व्यक्त गरे ।

भ्रष्टाचारमा मुछिएका शर्मालाई लाजसरम नमानी अर्थमन्त्री फेरि बनाएको उल्लेख गर्दै अध्यक्ष ओलीले शर्माबाहेक अरू कोही पनि मान्छे गठबन्धनमा अर्थमन्त्री हुन लायक नभएको जिकिर गरे ।

अध्यक्ष ओलीले प्रचण्ड, माधव नेपालहरूप्रति संकेत गर्दै कांग्रेसलाई प्रमुख पार्टी बनाउने दुष्ट उद्देश्य राखेकाहरूसँग गठबन्धन तोडेर आएमात्रै एकता हुन सक्ने बताए । उनले नेकपा (माले)का महासचिव सीपी मैनालीलाई पार्टी एकताका निम्ति आउन आह्वान गरे ।

अध्यक्ष ओलीले सत्तारूढ गठबन्धनमा आबद्ध दलहरूलाई देशद्रोहीको संज्ञा दिँदै नेपाली जनताले आगामी निर्वाचनमा सचेततापूर्वक आफ्नो पार्टीलाई विजयी गराउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर