‘पत्रकारको आवरणमा गैरपत्रकारबाट हुने गतिविधि रोक्न सदस्यता वितरणमा कडाइ गर्नुपर्छ’

प्रेस काउन्सिल नेपालले जथाभावी सदस्यता दिने काम नगर्न नेपाल पत्रकार महासंघलाई आग्रह गरेको छ ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आफ्नो सदस्यता दिने प्रावधानलाई खुकुलो नबनाउन नेपाल पत्रकार महासंघलाई आग्रह गरेका हुन् ।

नेपाल मतदाता अधिकार मञ्चले बुधबार काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पत्रकारको आवरणमा गैरपत्रकारबाट हुने विभिन्न खालका गतिविधिलाई रोक्न पनि महासंघले आफ्नो सदस्यता दिने काममा कडाइ गर्नुपर्ने स्पष्ट पारे ।

कुनै दलको केन्द्रीय कमिटीमा रहेकाहरूलाई पनि महासंघले सदस्यता दिँदा समस्या आएको दृष्टान्त पेश गर्दै अध्यक्ष बस्नेतले त्यसो हुन नदिन नेपाल पत्रकार महासंघलगायतका सम्बद्ध निकायहरू सचेत हुनुपर्ने बताए ।  उनले नेपाल पत्रकार महासंघको सदस्यता लिने तर सक्रिय पत्रकारिता नगर्नेहरूको कारण पनि नेपालको सञ्चार क्षेत्रमा समस्या देखिएको बताए ।

अध्यक्ष बस्नेतले सञ्चारकर्मीहरू आफू सचेत भएमात्रै अरूमाथि प्रश्न उठाउन सकिने बताए ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले राज्यले समेत पत्रकारहरूलाई विवेक पुर्‍याएर स्वतन्त्र ढंगले काम गर्ने वातावरण बनाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे ।  उनले पत्रकारहरू लगानीकर्ताका दास नै हुन् भन्ने खालको आरोप लाग्ने गरेको उल्लेख गर्दै त्यस कुराले पनि उनीहरूलाई स्वतन्त्र भएर काम गर्नमा अवरोध सिर्जना गरिरहेको बताए ।

अध्यक्ष पोखरेलले राज्यले पत्रकारको हितमा केन्द्रित भएर नीति तथा कार्यक्रम ल्याउन नसकेको गुनासो पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर