‘सरकार विदेशी शक्तिसँग थर्कमान भएर एसपीपीको बारेमा पूर्ण जानकारी गराउन डरायो’

नेकपा एमालेका सांसद डा. भीम रावलले सरकारले राज्यलाई द्वन्द्वतिर धकेलेको आरोप लगाएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सांसद रावलले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) मा संलग्न हुँदैनौं भनेर पत्र पठाएको भने पनि प्रधानसेनापतिलाई आईपीएसको कार्यक्रममा पठाएर नेपाललाई द्वन्द्वतिर धकेलेको बताए । उनले सरकार विदेशी शक्तिसँग घुँडा टेकेर र थर्कमान भएर जनता र जनताका प्रतिनिधिहरूलाई एसपीपीको बारेमा पूर्ण जानकारी गराउन डराइरहेको बताए ।

उनले एसपीपीको बारेमा अमेरिकालाई पठाएको पत्र अमूक देशका राजदूतावासका कर्मचारीले पढ्न पाउने तर देशका जनताका प्रतिनिधिलाई दुरुपयोग गर्छन् भनेर नदिनुले सरकार आफ्नो जिम्मेवारीबाट पन्छिरहेको बताए ।

सांसद रावलले जनताका प्रतिनिधिलाई अविश्वास गर्ने र परराष्ट्रमन्त्रीले अमेरिकालाई एसपीपीमा सहभागी हुन्नौं भन्ने पत्र सांसदले माग्दा सरकारप्रति अविश्वास गर्ने? भन्दै प्रश्न गरेको भन्दै सरकार नै जनताप्रति र संसद्प्रति जवाफदेही नभएको आरोप लगाए ।

उनले सरकारप्रति धेरै अविश्वास रहेको उल्लेख गर्दै उल्टो तर्क दिएर सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने बताउ । सांसद रावलले सरकार विदेशीलाई पहिलो प्रथमिकतामा राख्ने र विदेशीसामु लम्पसार पर्ने स्थितिमा रहेको भन्दै सरकार लोकतन्त्रविरोधी काम गर्नेतर्फ अग्रसर भएको आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर