सांसदको पदावधि मंसिर २१ सम्म रहने, उम्मेदवारी दिए स्वतः पदमुक्त हुने

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पदावधिलाई लिएर विभिन्न किसिमका टिप्पणी भइरहेका बेला निर्वाचन आयोगले भने मंसिर २१ गतेसम्म पदावधि कायम रहने बताएको छ ।

सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मंसिर ४ गतेको मिति तोकेलगत्तै बिहीबार पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पुनः उम्मेदवारी दिने सदस्यको हकमा उम्मेदवारी दिएपछि स्वतः पदावधि समाप्त हुने भए पनि अन्यको हकमा मंसिर २१ गतेसम्म पदावधि कायम रहने बताएका हुन् ।  यस विषयमा सरकारलाई दस्तावेज बुझाइएको पनि उनले जानकारी दिए ।

आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्थानीय तहको निर्वाचनमा देखिएका त्रुटि र कमजोरीलाई दोहोरिन नदिने गरी काम गरिने बताएको छ । स्थानीय तहको निर्वाचनमा देखिएको कमीकमजोरी र त्रुटिलाई दोहोरिन नदिने गरी आफ्नो तयारी भइरहेको बताएको हो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी मंसिर ४ गते हुने निर्वाचनको तयारीको लागि आवश्यक समय कम भए पनि अर्जुनदृष्टि लगाएर काम गरिने बताए । उनले मतदान स्थलहरूलाई सबैको पहुँचयोग्य बनाउने, मतदाता नामावलीलाई अद्याधिक बनाउने लगायतका आन्तरिक कामहरू आयोगले गर्दै आएको पनि बताए ।

उनले आगामी निर्वाचनमा स्थानीय तहको निर्वाचनमा भएका गल्ती कमजोरीलाई सच्याएर कुनै पनि किसिमको सवाल नउठ्ने गरी आयोगले काम गर्ने प्रतिबद्धता जनाए ।

आइतबारदेखि नै राजनीतिक दल दर्ता प्रक्रिया प्रारम्भ गरिने र आगामी सातादेखि समानुपातिक तर्फको निर्वाचन प्रक्रियाका कार्य अघि बढाउने तयारी आयोगले गरेको छ । त्यसैगरी असोजको तेस्रो हप्तामा उम्मेदवारी दर्ता गर्नेगरी निर्वाचन कार्यतालिका बनाउने तयारी भइरहेको पनि प्रमुख आयुक्त थपलियाले जानकारी दिए ।

आयोगले स्थानीय तहको निर्वाचनमा भन्दा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनम बढीमा ९ लाख मतदाता संख्या थपिने अनुमान गरेको छ । निर्वाचनका लागि आवश्यक सवारी साधनलगायत प्राविधिक क्षेत्रका लागि आवश्यक खर्चसम्बन्धमा नेपाल सरकार अर्थ मन्त्रालयमार्फत मित्र राष्ट्रलाई अनुरोध गरिएको र प्राप्त भएको सवालमा सहयोग स्वीकार गर्ने पनि स्पष्ट पारे ।

त्यसैगरी आमसञ्चार माध्यमलाई मतदाता शिक्षा प्रचार प्रसारमा प्रयोग गर्ने सवालमा भने वैदेशिक सहायता नीतिअन्तर्गत रहेर दातृ निकायको सहयोग पनि स्वीकार गरिने उनले स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर