खेलाडीहरू यसकारण हुँदैछन् विदेश पलायन

खेलाडीको प्रदर्शन र क्षमताको आधारमा कुनै देशको खेलकुदमा गरेको लगानी मापन हुन्छ । हरेक राष्ट्रले खेलकुदलाई आफ्नो प्रतिष्ठाको रूपमा अँगाल्दा नेपालले भने त्यसको लाभ उठाउन सकेको छैन । जसको परिणाममा खेलाडी विदेश पलायन हुन थालेका छन् ।

राजनीतिक अस्थिरता र खेलकुद क्षेत्रमा राजनीतिको हालीमुहालीले खेलाडीको भविष्य अन्योल हुँदा उनीहरू पलायनको बाटो रोजिरहेको कतिपय खेलविज्ञहरू बताउँछन् । तर, राज्यले खेलाडी पलायन रोक्न कुनै नीति ल्याउन सकेको छैन । यसले वर्तमान पुस्तालाई असर त गरेको छँदैछ, सँगै खेलकुद क्षेत्रको पनि भविष्य धराप बन्दै गएको छ ।

केही दिनअघि मात्रै राष्ट्रिय फुटबल टिमका सदस्य सन्तोष तामाङ नेपालमा खेलकुदमा भविष्य सुनिश्चित नहुने ठानेर अष्ट्रेलिया पलायन भए । यो एउटा आलो घटना हो । तर, योबाहेक पनि धेरै राष्ट्रिय खेलाडीहरू नेपालको खेल क्षेत्रमा आफ्नो भविष्य नदेखेर विदेश पलायन भइरहेका घटना छन् । नेपाली फुटबलका विमल राना, हेमन्त थापा मगर, नेपाली राष्ट्रिय क्रिकेटका वसन्त रेग्मी, पृथु बास्कोटा, नरेश बुढाऐर, राष्ट्रिय भलिबलकी रमिला तण्डुकारलगायत विभिन्न एकल विधाका खेलाडीहरू विदेश पलायन भइसकेका छन् ।

पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा नेपाली खेलकुदमा राजनीति बढी हाबी भएको सर्वत्र दृृष्टान्त छन् । अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागी हुन लाग्दा खेलाडी राजनीतिको चपेटामा परेको घटना पनि उत्तिकै बाहिरिएका छन् । खेलकुदलाई राज्यले हेर्ने दृष्टिकोण दूरगामी र प्रभावकारी बन्न नसक्दा वर्षौंसम्म खेलकुदमा लागेका खेलाडीले विकल्प रोज्न थालेका हुन् । उनीहरूको वैकल्पिक रोजाइ विदेश बन्ने गरेको छ ।

विदेश पलायनको बाटो रोजिरहँदा खेलाडीहरूले करियर नै टुंग्याउनेतिर समेत लागेका कतिपय उदाहरण छन् । यसले वर्तमान पुस्तालाई असर गरेकै छ, साथै भविष्यका लागि पनि नकारात्मक छाप पर्ने निश्चित छ ।

खेलविज्ञ सुशील नरसिंह राणा

नेपाली खेलकुदलाई नियालिरहेका खेलविज्ञ सुशील नरसिंह राणा आशा नभएपछि खेलाडीले विकल्प खोज्नु बाध्यत्मक परिस्थिति रहेको बताउँछन् । राणाले खेलकुदमा राजनीति हाबी हुनुले नकारात्मक असर परेको औंल्याए । नेपाली हरेक खेलाडीसँग आफ्नो नाम र प्रतिष्ठाको कुरा रहेकाले पनि खेलाडीहरू पैसामा नदौडिने उनको बुझाइ छ । तर, पछिल्लो समय खेलमा राजनीति हाबी हुँदा समग्र खेलकुद क्षेत्रमा नै नकारात्मक असर परेको उनले बताए ।

विदेश पलायन भइरहेका खेलाडीलाई रोक्नका लागि वर्षभर व्यस्त रहने खेलतालिका र योजनासहितका कार्यक्रम ल्याएमा खेलाडीले विकल्पको रूपमा विदेश नरोज्ने खेलविज्ञ राणा बताउँछन् ।

राज्यस्तरबाट खेलाडीहरूको सामाजिक सुरक्षाका लागि प्रभावकारी योजना बन्न नसकेको यथार्थ हो । विभागले केही हदसम्म खेलाडीलाई रोजगारीको निश्चितता गरेर टिकाउने प्रयास गरिरहेका छन् । अहिले तीन विभागले धानेको नेपाली खेलकुद अड्एिको छ भन्दा फरक नपर्ला । त्यस बाहिरका खेलाडीको अवस्था दयनीय बन्दै गएको छ ।

नेपाली खेलाडीले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिता भनेको ओलम्पिक, एशियन गेम्स, दक्षिण एशियाली खेलकुद हुन् । यी प्रतियोगितामा सहभागिताका लागि उपयुक्त किसिमको प्रतिस्पर्धात्मक प्रतियोगिताको अभाव छ । तय भएका राष्ट्रिय प्रतियोगिता पटकपटक सर्दै खेलाडीको तयारी व्यर्थ हुने गरेका छन् । तर, अहिले विगत र अहिलेको अवस्थामा फरक भएको भन्दै खेलविज्ञ राणाले खेलकुद क्षेत्रमा लागेका खेलाडीलाई सेवा सुविधा दिनुपर्ने बताए ।

विगतको अवस्था भन्दा अहिले खेलाडीलाई निजी स्तरबाट आयोजना हुने प्रतियोगिताबाट आर्थिक आर्जन गर्ने अवस्था फराकिलो भएको भए पनि दीर्घकालिन नभएको उनको बुझाइ छ । राज्यस्तरबाट कुनै पनि खेलाडीको करियरपश्चात् भविष्य सुनिश्चिताको व्यवस्था भए खेलाडी विदेश पलायन हुनबाट रोकिने राणाले बताए ।

नेपाली खेलकुदमा विश्वस्तरका भौतिक पूर्वाधारको अभाव छ । सँगै खेलाडीका लागि पर्याप्त सुविधा पनि छैन् । भविष्यको प्रत्याभूति नहुँदा धेरै र राम्रा खेलाडीहरू विदेश पलायन भइरहेका हुन । र, यो क्रम बढ्ने क्रममा रहेको हो ।

पूर्व कराते खेलाडी दीपक श्रेष्ठ

करातेबाट नेपाली खेलकुदलाई धेरैपटक पदक दिलाएका दीपक श्रेष्ठले विगतमा खेलाडीलाई उपलब्ध गराइने सेवा सुविधा र अहिलेका खेलाडीलाई उपलब्ध गराइने सेवा सुविधा तुलना गर्दा धेरै फरक भएकाले खेलाडी टिकाउन मुस्किल भएको बताउँछन् । श्रेष्ठले विगतमा राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई सम्बन्धित संघले जागिर दिने व्यवस्था भए पनि अहिले त्यो अवस्था नहुँदा कतिपय खेलाडीले विदेश जाने बाटोको रूपमा खेल छोड्ने गरेको बताए ।

नयाँ खेलाडीलाई टिकाउने आधार राज्यस्तरबाट बनाउनुपर्ने आवश्यकता रहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीसंघका अध्यक्षसमेत रहेका श्रेष्ठले बताए । राज्यस्तरबाट खेलाडीलाई टिकाउनका लागि उच्चस्तरबाट नै योजनाहरू बनाएको अवस्थामा खेलाडी पलायन रोक्न सकिने पूर्व खेलाडी श्रेष्ठ बताउँछन् ।

राष्ट्रिय खेलकुद परिषद्ले सीमित खेलाडीलाई खेल जीवनपछि प्रशिक्षक वा कर्मचारीका रूपमा रोजगारी दिँदै आए पनि यसले समग्र खेलाडीको सम्बोधन गर्न सकिरहेको छैन । यसबाहेक विभागीय टोलीले धेरै हदसम्म खेलाडी धानिरहेका छन् ।

खेल क्षेत्रबाट पलायन खेलाडीको यो सूची धेरै लामो छ । एकल विधाका खेलदेखि समूहगत खेलका खेलाडीले विकल्प दिनानुदिन खोजिरहेका छन् । यो लर्को रोक्न सम्बन्धित निकायले समयमै ध्यान दिन जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर