निर्वाचन अगावै प्रहरी समायोजन टुंग्याउन मधेसका मन्त्री र सांसदले बुझाए प्रदेश प्रमुखलाई ज्ञापनपत्र

मधेस प्रदेश सरकारले आगामी निर्वाचन अगावै प्रहरी समायोजन टुंग्याउन माग गर्दै प्रदेश प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ ।

मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत साहको नेतृत्वमा प्रदेश सरकारको टोलीले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई ज्ञापनपत्र बुझाएको हो ।

प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्नुपर्ने मागसहित ज्ञापनपत्र बुझाउन मन्त्री साहसहित मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, उद्योग वन तथा पर्यटनमन्त्री शत्रुधन महतो, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजय यादव, खानेपानी तथा उर्जामन्त्री ओमप्रकाश शर्मासमेत पुगेको थियो । साथै प्रत्येक दलबाट प्रदेश सभा सदस्यहरूसमेत ज्ञापनपत्र बुझाउनका लागि पुगेका थिए ।

७ दिनभित्र प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्ने प्रक्रिया आरम्भ नगरिए शान्तिपूर्ण अहिंसात्मक आन्दोलन गर्ने चेतावनी ज्ञापनपत्रमा दिइएको छ ।

सञ्चारमन्त्री साहले भने, ‘हामीले पटकपटक प्रहरी समायोजन गर्न केन्द्र सरकारसँग आग्रह गर्दै आएका छौँ, गृह तथा संघीय सरकारले कुनै गम्भीरता देखाएको छैन, एक सातासम्म पनि प्रहरी समायोजन नभए हामी बाध्य भएर संघीय सरकारविरुद्ध सङ्घर्षमा उत्रिन्छौं ।’

केही साताअघि जनकपुरधाममा भएको सातै प्रदेशका गृहमन्त्रीको सामूहिक बैठकले तत्काल प्रहरी समायोजन गर्न आग्रह गरेको थियो । साथै मधेस प्रदेशका मुख्यमन्त्रीको नेतृत्वमा छुट्टै आग्रह गरे पनि संघीय सरकारले त्यसतर्फ ध्यान नदिएको गुनासो गर्दै मन्त्री साहले संविधानले प्रदेश सरकारलाई दिएको अधिकारसमेत संघीय सरकारले खोस्ने, अपव्याख्या गर्ने र आश्वासन मात्रै दिने गरेकाले प्रदेश सरकार संघर्षमा उत्रिन बाध्य हुने चेतावनी दिए ।

मधेस सरकारको अगुवाइमा गत असार २३ गते ६ वटा प्रदेशका गृहमन्त्रीको भेला गरेर प्रहरी समायोजन ऐन र प्रहरी समन्वयसम्बन्धी ऐनको आधारमा संघीय सरकारले साउनभित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर