म शहरी विकासमन्त्री हुँदा पुँजीगत खर्चमा उल्लेख्य प्रगति भयो : झाँक्री

नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले आफू शहरी विकासमन्त्री हुँदा पुँजीगत खर्चमा उल्लेख्य प्रगति गरेको दाबी गरेकी छन्।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वमन्त्री झाँक्रीले आफू मन्त्री रहँदा योजनाबद्ध रूपमा काम गरेको र अन्य विकासे मन्त्रालयको तुलनामा पुँजीगत खर्चमा उल्लेख्य प्रगति गरेको दाबी गरेकी हुन्।

उनले आफ्नो कार्यकालमा शहरी विकास मन्त्रालयको टिमले हरेक आयोजना कार्यान्वयनको विषयमा योजना बनाएर काम गरेको बताइन्। झाँक्रीले शहरी विकासमन्त्री हँुदा विकास निर्माणसम्बन्धी महत्त्वपूर्ण नीतिहरू परिर्माजन गर्ने, आयोजनाको तयारी गर्दा आयोजनाको सम्भाव्यता अध्ययनमा विशेष जोड दिएको बताइन्।

उनले अहिले पनि आयोजनाले पार्ने प्रभावको विश्लेषण गरेर मात्रै हरेक आयोजनाको तयारी गर्नुपर्ने बताइन्। झाँक्रीले नीतिगत तहमा अनियमिता रोक्नको लागि समिति बनाएर प्रतिवेदन तयार पारेको पनि उल्लेख गरिन्।

उनले उपभोक्ता समितिले गर्ने काम गुणस्तरहीन हुने गरेको र असार मसान्तमा आएर काम सक्ने गरेकाले अख्तियारले समेत प्रश्न उठाएको बताइन्। सचिव झाँक्रीले आफू मन्त्री हुँदा मन्त्रालयबाट स्वीकृत योजनाहरू सबै सार्वजनिक खरिद प्रक्रियाबाट गर्ने प्रयास गरेको बताइन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर