मुस्ताङको लोमान्थाङमा निर्मित सर्वाधिक उचाइको गल्फ कोर्समा प्रतियोगिता हुने

विश्वको सबैभन्दा बढी उचाइमा रहेको गल्फ कोर्स लोमान्थाङमा भदौ दोस्रो साता ‘टप अफ दि वर्ल्ड’ गल्फ च्यालेन्ज प्रतियोगिता आयोजना हुने भएको छ ।

मुस्ताङको लोमान्थाङमा ४ हजार ६ सय ३५ मिटर उचाइमा निर्माण गरिएको गल्फ कोर्समा भदौ ११ गते प्रतियोगिता आयोजना हुन लागेको हो ।

उच्च स्थानको गल्फ कोर्स भए पनि पहिचान पाउन भने बाँकी छ । लोमान्थाङ युवा क्लब र लोमान्थाङ गाउँपालिकाको संयुक्त आयोजनामा मुस्ताङ गल्फ कोर्समा ‘टप अफ दि वर्ल्ड’ गल्फ च्यालेन्ज प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगितामा काठमाडौं र पोखराबाट गरी २४ पुरुष र ४ महिला खेलाडीको सहभागिता रहने अनुमान गरिएको छ ।

प्रतियोगिता तीन बाई चार स्टेवलफोर्ड फर्म्याटमा कुल ९ होलमा खेलाइनेछ । विश्वकै अग्लो स्थानमा रहेको गल्फ कोर्स भारतको सिक्किममा रहेको छ । लोमान्थाङमा प्रतियोगिता आयोजना भएको अवस्थामा नेपालको कोर्सले नयाँ पहिचान पाउनेछ ।

पहिलोपटक आयोजना हुन लागेको प्रतियोगिताबाट गल्फ कोर्सको गुणस्तर पहिचान गर्ने र आवश्यकताअनुसार परिमार्जन गर्दै लगिने आयोजक लोमान्थाङ क्लबले बताएको छ । गल्फ कोर्स गण्डकी प्रदेश सभा सांसद इन्द्रधारा विष्टको सक्रियतामा निर्माण गरिएको हो । सांसद विकास कोषको १० लाख, लोमान्थाङ गाउँपालिका र मुस्ताङका सांसद विष्टको लगानीमा कोर्सको निर्माण भएको हो ।

भविष्यमा नेपालको खेल पर्यटनका लागि सहयोग पुर्‍याउने उदेश्यका साथ गल्फ कोर्सको निर्माण गरिएको हो र हाई अल्टिच्युडमा खेलाडीलाई अभ्यस्त बनाउने लक्ष्य रहेको छ । नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले अग्लो स्थानको गल्फ कोर्सको पहिचानका लागि सरकार र विश्व गल्फ महासंघमा पहल गर्ने बताउँदै अग्लो स्थानको गल्फ कोर्सले गल्फको विकासमा सहयोग पुर्‍याउने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर